सहकारी संस्थाद्वारा चामल उत्पादन

विर्तामोड । अन्तरसहकारी कारोबार अन्तर्गत झापाको पहिलो पाइला बहुउदेश्य सहकारी भद्रपुर र टेवा कृषि सहकारी संस्था लिमिटेड कटुन्जे भक्तपुरको सहकार्यमा चामलको उत्पादन सुरु भएको छ ।

अन्तर सहकारी कारोबार अन्तर्गत विभिन्न तौलमा चामल प्याकेजिङ गरी बजारसम्म पु¥याउने कामको थालनी भएको हो ।

अन्तर सहकारी कारोबारबाट कृषकको धान नबिक्ने र बिचौलियाबाट ठगिने समस्या समाधान हुने भएको छ । किसानले उत्पादन गरेको धानले मूल्य मात्र नपाएको र बजार व्यवस्थापनमा पनि समस्या रहेको बेला सहकारीले थालेको चामल उत्पादनबाट किसानले फाइदा लिनेछन् ।

साना किसानहरूबाट उत्पादित धान कृषकहरूको खेतबाटै उठाएर प्रशोधन गरी बजार व्यवस्थापन गर्ने र बिचौलियाको मनोमानीको अन्त्य हुनेगरि काम थालेको टेवा कृषि सहकारी संस्था लिमिटेड सल्लाघारी भक्तपुरका लेखा समिति संयोजक गङ्गाप्रसाद ख्याजुले जानकारी दिनुभयो । सहकारीले बिचौलियाको अन्त्य गर्न मोरङको उर्लाबारी नगरपालिकामा रहेको फक्ताङ्लुङ कृषि सहकारीसँग पनि सहकार्य गर्दैछ ।

पहिलो पाइला वहुउदेश्य सहकारी संस्था लिमिटेड भद्रपुरका खाद्यान्न व्यवस्थापन उपसमितिका संयोजक पुष्प पोख्रेलका अनुसार आफ्नो काममा बिचौलियाले वाधा गर्ने प्रयास गरिरहेको बताउनुभयो । टेवा कृषि सहकारी संस्था लिमिटेडले विगतमा गाई पालन, बाख्रा पालनका क्षेत्रमा रहेर काम गर्दै आएको थियो भने पहिलो पाइला वहुउदेश्य सहकारी संस्था लिमिटेडले पनि सामूहिक खेतीको राम्रो अनुभव बटुलेको छ ।

नुवाकोटमा ४० रोपनी जमिन खरिद गरेर विभिन्न व्यावसायिक खेतीको सुरुवात गरेको टेवा कृषि सहकारी संस्था लिमिटेडकी सदस्य तथा कृषि व्यवस्थापन समितिकी संयोजक हरिलक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न ब्रान्डका चामल बजारमा ल्याउन सफल यो अन्तर सहकारी कारोबार नमुना हो ।

यसबाट कृषकको जीवनस्तर माथि उठाउन सकिने सम्भावनाहरू रहेको पहिलो पाइला बहुउदेश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष सनिपकुमार भुजेलले जानकारी दिनुभयो ।

बिहिबार, १८ मंसिर, २०७७, बिहानको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर