लोड हुँदैछ...

मेनु

मेस्सीको एकपछि अर्को रेकर्ड बन्दा चम्किए एम्बाप्पे, अर्जेन्टिना–फ्रान्स नकआउट चरणमा

मेस्सीको एकपछि अर्को रेकर्ड बन्दा चम्किए एम्बाप्पे, अर्जेन्टिना–फ्रान्स नकआउट चरणमा

विराटनगर । फिफा विश्वकप २०२६ मा विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र किलियन एम्बाप्पे फेरि चर्चाको केन्द्रमा आएका छन्।

समूह चरणको दोस्रो खेलमा दुवैले आ–आफ्ना टोलीलाई जित दिलाउँदै विश्व फुटबलमा आफ्नो प्रभाव कायमै रहेको प्रमाणित गरेका छन्। लगातार दोस्रो जितसँगै अर्जेन्टिना र फ्रान्सले अन्तिम १६ अर्थात् नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

अमेरिकाको इङ्गलवुडस्थित सोफी स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्‍यो। खेलअघि सबैको ध्यान कप्तान लियोनल मेस्सीमाथि केन्द्रित थियो। विश्वकपमा १६ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान बराबरी गरेका मेस्सी नयाँ इतिहास रच्ने तयारीमा थिए।

खेलको सुरुआतमै मेस्सीले पेनाल्टीको अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। पेनाल्टी चुकेपछि विश्वकपमा सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान तत्कालका लागि रोकिने देखिएको थियो। तर, अर्जेन्टिनाका कप्तानले त्यसको केहीबेरमै आफू किन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गरे।

खेलको ३८औँ मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि खेलको अन्तिमतिर उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीलाई सहज जित दिलाए। यी दुई गोलसँगै मेस्सीको विश्वकप गोल संख्या १८ पुगेको छ। यससँगै उनले मिरोस्लाभ क्लोसलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने नयाँ कीर्तिमान कायम गरेका छन्।

सन् २००६ देखि लगातार छैटौँ विश्वकप खेलिरहेका ३९ वर्ष नजिक पुगेका मेस्सीका लागि यो उपलब्धि विशेष मानिएको छ। उनले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने, सबैभन्दा बढी विश्वकप खेल्ने र अब सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन्। सन् २०२२ मा अर्जेन्टिनालाई विश्वविजेता बनाएका मेस्सी यसपटक पनि उत्कृष्ट लयमा देखिएका छन्।

यता समूह ‘आई’ अन्तर्गत फिलाडेल्फियामा भएको खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्‍यो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने। उनले खेलको १४औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ५४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्‍यो। त्यसपछि उस्मान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको सहज जित सुनिश्चित गरे।

एम्बाप्पेको दुई गोलसँगै उनको विश्वकप गोल संख्या थप बढेको छ। पछिल्ला दुई विश्वकपदेखि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रान्सेली स्टारले यसपटक पनि गोल्डेन बुटको दाबेदारी बलियो बनाएका छन्। लगातार दुई जितसँगै फ्रान्सले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। समूह ‘आई’ मा नर्वे शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो स्थानमा छ।

विश्वकप २०२६ मा युरोपका केही ठूला टोलीहरू अपेक्षाअनुसार प्रदर्शन गर्न संघर्ष गरिरहेका बेला अर्जेन्टिना र फ्रान्स भने लगातार जित निकाल्दै उपाधि दाबेदारका रूपमा अझ बलियो देखिएका छन्। विशेषगरी मेस्सी र एम्बाप्पेको प्रदर्शनले विश्व फुटबल समर्थकमाझ उत्साह थपिएको छ।

एकातिर ३८ वर्षीय मेस्सी विश्वकप इतिहासका नयाँ कीर्तिमान रच्दै आफ्नो स्वर्णिम करिअरलाई थप चम्काइरहेका छन् भने अर्कोतर्फ २७ वर्षीय एम्बाप्पे भविष्यका महान खेलाडी बन्ने यात्रामा लगातार अगाडि बढिरहेका छन्। विश्वकप २०२६ मा यी दुई सुपरस्टारबीचको प्रतिस्पर्धाले फुटबल समर्थकलाई थप रोमाञ्चक क्षणहरू प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।