काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पछिल्लो समय पुनः सुरु भएको वामपन्थी एकताको चर्चाप्रति कडा असन्तुष्टि जनाएका छन्। नेता बाँस्कोटाले नेतृत्वले विगतमा पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी फेरि एकताको कुरा गर्नुको अर्थ नभएको टिप्पणी गरेका हुन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले एकताको नयाँ रगत अलाप्नुअघि नेतृत्वलाई पद छोडेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।
आइतबार मात्रै एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु लगायतका नेताहरूले एउटै मञ्चबाट वामपन्थी शक्तिहरू पुनः मिल्नुपर्ने धारणा राखेका थिए। सोही सन्दर्भलाई जोड्दै बाँस्कोटाले यसलाई नेतृत्वको ुशक्तिमा टिकिरहने दाउु को संज्ञा दिएका छन्।
‘पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयंकर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो, बाँस्कोटाले लेखेका छन्।
उनले नेतृत्वलाई प्रश्न गर्दै अगाडि भनेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन। आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?
बाँस्कोटाको यो भनाइले एमालेभित्र वाम एकतालाई लिएर सबै नेताहरू एकमत नरहेको संकेत गरेको छ। विगतमा नेकपा विभाजन भएपछि दाहाल र ओलीबीचको सम्बन्धमा आएको तिक्तता र पछिल्लो राजनीतिक समीकरणका बीच फेरि एकताको बहस सुरु भएपछि बाँस्कोटाको यस्तो कडा प्रतिक्रिया आएको हो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।