विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा डाक्टरले चलाएको कारको ठक्करबाट नेपाल प्रहरीका एक वरिष्ठ प्रहरी नायब निरीक्षक(वरिष्ठ सई) को मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ नरह चोकनजिक मंगलबार दिउँसो भएको दुर्घटनामा वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेका अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका ५० वर्षीय वरिष्ठ सई यादव गम्भीर घाइते भएका थिए । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए ।
दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ ।
प्रहरीले कार चालक मोरङको कटहरी गाउँपालिका–३ घर भएका ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । डा. चौधरी चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।