उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा गएराति जंगली हात्तीले आतंक मच्चाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीको समूहले मध्यराति गाउँ पसेर ६ वटा घर भत्काउनुका साथै ठूलो परिमाणमा अन्नपात नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेश बमका अनुसार हात्तीको आक्रमणबाट स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरको घरमा क्षति पुगेको छ । हात्तीले उनीहरूको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।
घर भत्काउनुका साथै हात्तीले घरभित्र राखिएको अन्नपातसमेत खाएर नष्ट गरेको प्रहरीले जनाएको छ । राति अचानक हात्ती गाउँ छिरेपछि स्थानीयले भागेर ज्यान बचाउन सफल भएको स्थानीय पुष्प राईले जानकारी दिए । ‘हात्तीले एकाएक घर भत्काउन थालेपछि हामीले जेनतेन भागेर ज्यान जोगायौँ, राईले भने ।
हात्तीले घर भत्काएपछि विस्थापित भएका परिवारलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको छ ।
हाल हात्तीको समूह लामाचौरी र ४५ चोक आसपासको जङ्गल क्षेत्रमा बसिरहेको बताइएको छ । जंगली हात्ती अझै पनि आसपासकै जंगलमा रहेकाले गाउँलेहरू त्रसित छन् । गाउँलेको सुरक्षाका लागि उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले जानकारी दिएका छन् ।
पछिल्लो समय उदयपुरका विभिन्न क्षेत्रमा कोशीटप्पुबाट आउने जंगली हात्तीले जनधनको क्षति पुऱ्याउने क्रम बढ्दै गएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।