जहदामा पाँच शैयाको कोभिड अस्पताल

विराटनगर । लक्षणसहितका कोरोना संक्रमितहरुको उपचारका निम्ति मोरङको जहदा गाउँपालिकाले ५ शैयाको कोभिड-१९ आइशोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले सोमबारदेखि वडा नंं. ५ स्थित मझारे स्वास्थ्य चौकीलाई कोभिड अस्पतालमा स्तरोन्नति गरि सञ्चालन ल्याएको हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको योजना अन्तर्गत सो अस्पताल सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ । संघीय सरकारकै १० लाखको सहयोगमा न्यूनतम स्वास्थ्य पूर्वाधारसहित सो अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिनुभयो ।

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेकाले स्थानीय तहका संक्रमितलाई स्थानीयस्तरमै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रारम्भिक चरणमा मध्यम प्रकृतिका संक्रमितहरुको निःशुल्क उपचारका निम्ति गाउँपालिकाले अस्पतालमा ५ वटै बेडलाई पुग्ने अक्सिजन, एम्बुलेन्स, औषधी र आवश्यक स्वास्थ्य पूर्वाधारहरुकोे व्यवस्था गरेको छ । संक्रमितको उपचारका निम्ति आवश्यक एक जना एम.बि.बि.एस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी सहित दक्ष स्वास्थ्यकर्मीको मागलाई पूर्ति गर्न गाउँपालिकाले ७ दिने दरबन्दी समेत माग गरेको जनाएको छ ।

गाउँपालिकाले स्थानीयस्तरकै अनमी, अहेब र स्टाफ नर्स लगायतका आवश्यक दक्ष स्वास्थ्य जनशक्तिलाई अस्पतालमा परिचालन गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताउनुभयो । यसबाहेक गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुको उपचारका लागि गाउँपालिकाले पौने २ करोडको लागतमा १५ शय्याको एक तले अस्पताल निमार्णका लागि टेण्डर समेत आव्हान गरिसकेको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

सोमबार, १५ मंसिर, २०७७, रातीको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर