विराटनगर । विश्वकप फुटबलको ज्वरोले मोरङ कानेपोखरी–६ मुलगाउँका लवन श्रेष्ठलाई पनि छोपेको थियो । मोबाइलमै फुटबल हेर्ने विकल्प खोज्दै गर्दा उनको स्क्रिनमा एउटा विज्ञापन झुल्कियो – ‘फ्री वल्र्डकप हेर्नुहोस्’ । पैसा तिर्नु नपर्ने लोभमा उनले विज्ञापनमा क्लिक मात्र के गरेका थिए, मोबाइलमा सन्देश (म्यासेज) आयो । तर, त्यो फुटबल लिङ्कको थिएन, बैंक खाताबाट पैसा काटिएको सूचना थियो ।
जेठ २४ गते उनको बैंकबाट एक लाख रुपैयाँ गायब भयो । श्रेष्ठको खाताबाट मुक्तिनाथ विकास बैंकको खातामा पैसाँ ट्रान्सफर भएको देखिन्छ । “फ्री वल्र्डकपको एप डाउनलोड गर्न खोजेको थिएँ, तर एक मिनेटमै खाता रित्तिएछ,” लवनले आफ्नो पीडा सुनाए । ठगिएको पत्तो पाएपछि उनी तत्काल बैंक र इलाका प्रहरी कार्यालय पथरी पुगे । तर, डिजिटल संसारको त्यो अदृश्य ठगसम्म प्रहरी अझै पुग्न सकेको छैन ।
लवन त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय ‘फ्री’ वा ‘सस्तो’ को प्रलोभन देखाएर सर्वसाधारणको बैंक खातामाथि साइबर डकैती गर्ने गिरोह सक्रिय छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार विश्वकपको मौका छोपेर ठगहरूले ईएक्सई, बीएटी र एपीके जस्ता फाइलको सहारामा ठगीको सञ्जाल फिँजाएका छन् ।
साइबर ब्युरोका अनुसार जेठ ६ गतेदेखि यस्ता ठगीका निवेदनको चाङ लाग्न थालेको हो । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार हालसम्म ११५ वटा उजुरी परिसकेका छन् । यी उजुरीहरूमा मात्रै २ करोड २९ लाख रुपैयाँ ठगी भएको देखिएको छ ।
“कसैको १० हजार त कसैको एक लाख ८० हजार रुपैयाँसम्म ठगी भएको छ,” एसपी गिरी भन्छन्, “ठगहरूले यति द्रुत गतिमा पैसा एक खाताबाट अर्कोमा सार्छन् कि हामीले रोक्न खोज्दाखोज्दै रकम विदेश पुगिसकेको हुन्छ ।” प्रहरीका अनुसार एउटा खाताबाट १० वटासम्म विभिन्न खातामा पैसा रकमान्तर गरेर अपराधीले आफ्नो पहिचान लुकाउने गरेका छन् ।
भयावह बन्दै ठगीको ग्राफ
नेपालमा साइबर अपराधको ग्राफ कति भयावह छ भन्ने कुरा प्रहरीको तथ्यांकले नै पुष्टि गर्छ । चालु आव २०८२÷८३ को ७ असारसम्म मात्रै साइबर अपराधसम्बन्धी १९ हजार ३३४ घटना प्रहरीमा पुगेका छन् । अघिल्लो आव २०८१÷८२ मा यस्तो संख्या १८ हजार ९२६ थियो ।
आव २०७८÷७९ मा साइबर अपराधसम्बन्धी चार हजार ६८६ घटना मात्रै प्रहरीमा पुगेका थिए । त्यसपछि आव २०७९÷८० मा यस्तो संख्या बढेर नौ हजार १३ पुग्यो। आव २०८०÷८१ मा भने यो संख्या दोब्बरभन्दा बढेर १९ हजार ७३० पुगेको थियो । यो तथ्यांकले चार वर्षमा साइबर अपराध झन्डै पाँच गुणाले बढेको देखाउँछ ।
प्रविधिको पहुँचसँगै अपराधीहरूले ठगीका शैली पनि फेरिरहेका छन् । कहिले आकर्षक रोजगारीको प्रस्ताव, कहिले डिजिटल वालेटको ‘केवाईसी’ अपडेट गर्ने बहाना त कहिले चिठ्ठा परेको प्रलोभन । अहिले फुटबलको सिजनमा ‘फ्री स्ट्रिमिङ’ को कार्ड फ्याँकेर उनीहरूले सोझा सर्वसाधारणलाई जालमा पारिरहेका छन् ।
प्रहरीको विश्लेषणमा अनलाइन ठगीको सिकार हुनेमा अशिक्षीत भन्दा शिक्षित वर्गको संख्या ठूलो छ । स्नातक र स्नातकोत्तर गरेका युवाहरू, जो इन्टरनेटको बढी प्रयोग गर्छन्, उनीहरू नै यस्ता विज्ञापनको पछि लाग्दा ठगिने गरेका छन् ।
“पढे–लेखेका युवाहरू नै अनलाइन जब र फ्री अफरका विज्ञापनमा सजिलै विश्वास गर्छन् र अन्तिममा आफैँ ठगिन्छन्,” एक अनुसन्धान अधिकृत भन्छन् ।
बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूले पनि सतर्कता अपनाउन थालेका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लगायतका संस्थाहरूले सार्वजनिक सूचना नै जारी गरेर शंकास्पद लिङ्क र अनधिकृत एपबाट बच्न आग्रह गरेका छन् । साइबर ब्युरोले पनि असार १ गते नै सूचना जारी गर्दै अपरिचित लिङ्कबाट आउने ‘एपीके’ फाइल डाउनलोड नगर्न अनुरोध गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।