चाडपर्वमा हुने भिडभाड रोक्न मोरङमा निषेधाज्ञा जारी

विराटनगर । चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ ।

चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ प्रशासनले आगामी कात्तिक १५ राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सो अवधिमा जिल्लाभरिका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्य पुजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जम्मा भई गरिने पुजाअर्चना, भजन, किर्तन, कलश यात्रा, बली पुजा एवं मुर्ती विसर्जनलगायतका कार्यहरु गर्न नपाईने मोरङ्ग प्रशासनले जनाएको छ । सो अवधिमा जिल्लाभरी नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग चल्ने लामो दुरीका सवारीसाधन बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रशासनले चाडपर्वमा भेला भएर सामुहिक रुपमा कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाएको छ । यसैगरि शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामूहिक रुपमा जमघट भएर गरिने कार्यक्रममा पनि प्रशासनले रोक लगाएको छ ।

आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङ्गले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ ।

आइतबार, ०२ कार्तिक, २०७७, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर