विराटनगर । विराटनगरस्थित स्टार सहकारी संस्थाको शनिबार सम्पन्न २३ औं साधारणसभामा समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलद्वारा स्थापित छात्रवृत्ति वितरण गरिएको छ ।
समाजसेवी गोयलले स्टार सहकारीले हरेक वर्ष साधारणसभामा वितरण गर्नेगरी आफ्ना दाजु स्वर्गीय ओमप्रकाश गोयलका स्मृतिमा ७ लाख रुपैयाँको अक्षयकोष राखेर हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आउनुभएको छ ।
साधारण सभामा विभिन्न सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गर्ने ११ जनालाई जनही ७ हजार रुपैयाँका दरले छात्रबृत्ति वितरण गरिएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले छात्रवृत्ति वितरण गर्नुभयो ।
छात्रवृत्ति पाउनेमा पोखरिया मावि विराटनगरका स्तुति खतिवडा, श्री मावि बर्जु सुनसरीका अञ्जनाकुमारी राय, दुर्गा मावि बुधनगरका सुनैनाकुमारी राजवंशी, मिल्स मावि विराटनगरका मञ्जुलाकुमारी तत्मा, देवी मावि तेतरियाका सुनिता ढकाल, रामसीता मावि बर्जु सुनसरीका राहुलकुमार शाह, महेन्द्ररात्रि मावि विराटनगरका सृजना सरदार, जनपथ मावि विराटनगरका पिन्टु पासवान तथा कविता ऋषिदेव, सरस्वती उमावि विराटनगरका कामना अधिकारी र देवी मावि तेतरियाका शकुन्तला ढकाल छन् ।
साधारणसभामा मन्त्री कार्कीले समाज रूपान्तरणका निमित्त सहकारी संघ÷संस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । वर्तमान महामारीका अवस्थामा व्यापक रोजगारी सृजना गरी नेपाली जनतालाई देशमा नै बस्नसक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी गोयलले लिखित मन्तब्य पठाएर मुलुकका जेहेन्दार छात्रछात्रालाई सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाले गत आर्थिक वर्षमा कुल १ अर्ब ७० करोड १९ लाख ९ हजार ८ सय १० रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जानकारी दिएको छ । २ हजारभन्दा बढी सदस्यलाई आबद्ध गरेको सहकारी संस्थामा ३ करोड ८० लाख शेयर रकमसहित २५ करोड रुपैयाँभन्दा बढी बचत मौज्दात रहेको र २६ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको संस्थाका सदस्य सचिव डिल्ली पोखरेलले जानकारी दिनुभयो ।