विराटनगर । नेपालमा परम्परागत रूपमा गरिँदै आएको समाज सेवालाई अब व्यावसायिक र वैज्ञानिक शिक्षाका रूपमा अगाडि बढाउने नयाँ पहल सुरु भएको छ । समाजमा सेवा गर्ने भावना मात्र भएर पर्याप्त नहुने भएकोले यसलाई प्राविधिक र पद्धतिगत रूपमा कसरी सफल बनाउने भन्ने उद्देश्यले विश्वविद्यालयका प्राध्यापकहरू नयाँ अभियानमा जुटेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मध्य पश्चिम विश्वविद्यालयका ३१ जना प्राध्यापकहरू यतिबेला विराटनगरमा भेला भएका छन् । “नेपालमा सामाजिक कार्य अभ्यास शिक्षा” लाई अन्तर्राष्ट्रिय स्तरको बनाउन १० दिने विशेष सत्र सुरु भएको हो । पूर्वाञ्चल विश्वविद्यालयको समन्वयमा आयोजित यस कार्यक्रममा युरोपियन युनियन, फिनल्याण्ड, चेक गणतन्त्र र स्पेनका ख्यातिप्राप्त विश्वविद्यालयहरूले प्राविधिक र शैक्षिक साझेदारी गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले अबको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड दिए । उनले भने, “हाम्रा विद्यार्थीहरू पढ्नका लागि विदेशिने क्रम बढ्दो छ । अब नेपालकै माटो सुहाउँदो र व्यावसायिक शिक्षा दिएर विदेशी विद्यार्थीलाई समेत नेपाल आउने वातावरण बनाउनुपर्छ ।”
विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले शिक्षालाई समयसापेक्ष बनाउन प्राध्यापकहरूको क्षमता अभिवृद्धि अनिवार्य रहेको बताए । यस्तै, रजिष्ट्रार डा. रमेश बाबु काफ्लेले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको यो सहकार्यले नेपाली प्राध्यापक र विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।
नेपाल तथा एसियाली अध्ययन केन्द्रका निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले नेपालको आफ्नै मौलिक सामाजिक कार्य शिक्षाको पहिचान रहेको भन्दै यसलाई व्यावसायिक बनाउन अनुसन्धानमा लगानी बढाउनुपर्ने बताए । परियोजनाकी अन्तर्राष्ट्रिय निर्देशक प्रोफेसर हङ्लिन चेनले यो तीन वर्षे परियोजनाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ र फिल्ड अभ्यासलाई गुणस्तरीय बनाउने जानकारी दिइन् ।
असार ९ गतेसम्म चल्ने यस सिकाइ सत्रले सामाजिक कार्य अध्यापन गराउने शिक्षकहरूलाई नयाँ प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने विश्वास लिइएको छ । यसबाट उत्पादित जनशक्तिले समाजका जटिल समस्याहरूलाई वैज्ञानिक ढंगले समाधान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।