लोड हुँदैछ...

मेनु

सामाजिक कार्यका शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम शुरू

सामाजिक कार्यका शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम शुरू

विराटनगर । “नेपालमा सामाजिक कार्य अभ्यास शिक्षा” अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य अध्यापनरत शिक्षकहरुका लागि १० दिने तालिम विराटनगरमा शुरु भएको छ ।

तालिममा पूर्वाञ्चल विश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्य पश्चिम विश्वविद्यालयबाट सात जना गरी ३१ जना शिक्षकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले आयोजना गरेको सो कार्यक्रमलाई युरोपियन युनियनले सहयोग गरेको छ । युनिभर्सिटी अफ इष्टर्न फिनल्याण्डाको समन्वयमा सञ्चालित सो कार्यक्रममा चेक गणतन्त्रको ओस्ट्राभा युनिभर्सिटी, स्पेनको नेसनल युनिभर्सिटी अफ डिस्टान्स एजुकेशन, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मध्य पश्चिम विश्वविद्यालय साझेदार संस्थाको रुपमा रहेका छन्

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले विश्वविद्यालयहरुले व्यवहारिक शिक्षालाई जोड दिन आग्रह गरे । शिक्षाका लागि विदेशिने समस्या विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री मेहताले विद्यार्थीहरुलाई नेपालमै बसेर पढ्ने वातावरण सिर्जना गर्न र पढ्नका लागि विदेशी विद्यार्थीहरुलाई नेपाल आउने वातावरण बनाउने तर्फ विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर बिजु कुमार थपलियाले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । शिक्षाको गुणस्तर बढाएर शिक्षालाई समयानुकुल बनाउनु अहिलेको आवश्यकता भएको तर्फ इङ्गित गर्दै उपकुलपति थपलियाले विश्वविद्यालयका प्राध्यापकहरुको क्षमता अभिवृद्धि गरेर शिक्षाको गुणस्तर बढाउन पूर्वाञ्चल विश्वविद्यालय प्रतिवद्ध रहेको बताए ।

परियोजनाकी अन्तर्राष्ट्रिय निर्देशक प्रोफेसर हङ्लिन चेनले परियोजनाले नेपालका सामाजिक कार्यका प्राधयापकहरुको अभ्यास शिक्षाको क्षमता अभिवृद्धि गर्ने जानकारी दिए । परियोजनाबाट प्रशिक्षित प्राध्यापकहरुले विद्यार्थीहरुको अभ्यासमाको गुणस्तर अभिवृद्धि गर्न यो तालिम फलदायी हुने भन्दै चेनले विद्यार्थीहरुले अभ्यास गर्ने संघ संस्थाहरुले विद्यार्थीको सिकाईलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट काम गर्ने जानकारी दिए । तीन वर्षसम्म सञ्चालन हुने यो परियोजनाले सामाजिक कार्य शिक्षाको विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चेनले बताए ।

यो तालिम लिएका शिक्षकहरुले विद्यार्थी र सामाजिक कार्य अभ्यास गर्ने संघ संस्थाहरुसँग मिलेर काम गर्नेछन् । तालिम असार ९ गतेसम्म सञ्चालन हुनेछ । पूर्वाञ्चल विश्वविद्यालयले विगत एक दशकदेखि सामाजिक कार्यको स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।