लोड हुँदैछ...

मेनु

घर्तीभिरको चट्टान फुटाएर छोटो सडक निर्माण, दिक्तेल–रेग्मीटार दूरी १७.५ किमि घट्यो

घर्तीभिरको चट्टान फुटाएर छोटो सडक निर्माण, दिक्तेल–रेग्मीटार दूरी १७.५ किमि घट्यो

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमास्थित चर्चित घर्तीभिरको विशाल चट्टान फुटाएर नयाँ सडक निर्माण गरिएको छ।

दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको चट्टान काटेर सडक निर्माण गरिएको हो। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत एक करोड सात लाख ७८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित दुई करोड रुपैयाँ बजेटअन्तर्गत कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स, उदयपुरले एक करोड सात लाख रुपैयाँमा ठेक्का सम्झौता गरी करिब पाँच महिनाको अवधिमा स्काभेटरमा ब्रेकर प्रयोग गरेर चट्टान फुटाएको भौतिक पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत सीताराम राउतले जानकारी दिए।

शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले नयाँ सडकको उद्घाटन गर्दै यसले यात्रु र यातायात व्यवसायीलाई सहजता प्रदान गर्ने बताए। उनका अनुसार यसअघि प्रयोग हुँदै आएको महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा यो मार्ग सिधा र छोटो बनेको छ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराई जोड्ने सबैभन्दा छोटो मार्ग हो। नयाँ सडक सञ्चालनमा आएपछि पुरानो मार्गको तुलनामा करिब १७.५ किलोमिटर दूरी घट्नेछ।

नगरपालिकाले यसअघि दिक्तेलदेखि घर्तीभिरसम्म र रेग्मीटारदेखि घर्तीभिरसम्म दुवैतर्फ कच्ची सडक निर्माण गरिसकेको थियो। बीचमा रहेको घर्तीभिरको ठूलो चट्टान नै मुख्य अवरोध बनेको थियो। चट्टान हटाइएपछि नियमित सवारी सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

नयाँ सडक सञ्चालनमा आएपछि उदयपुरको गाईघाटसहित पूर्वी तराईका जिल्लासँगको आवतजावत सहज हुने, खाद्यान्न, इन्धन, हार्डवेयरलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीमा पनि सुविधा पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, सोही सडकखण्डअन्तर्गत दिखुवाखोलामा प्रदेश सरकारको करिब तीन करोड रुपैयाँ लागतमा मोटरेबल ट्रस पुल निर्माणको काम पनि जारी छ। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने यातायात अवरोधसमेत हट्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।