विराटनगरमा फेसन डिजाइनको पढाइ सुरु

विराटनगर । विराटनगरको विद्याभूमि स्कूलले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ ।

प्लस टुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय थप गरिएको जानकारी दिनुभयो ।

विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिज्म अध्ययन गराउँदै आएको विद्यालयले यस वर्षदेखि पूर्वमै पहिलो पटक फेशन डिजाइन, कुलिनरी आर्टस् र हस्पिटालिटी म्यानेजमेन्ट थपेको हो । विद्यालयका प्राचार्य पराग ढुंगानाका अनुसार यो वर्षदेखि व्यवस्थापनका अन्य विषयमा पनि अध्ययन गराउने तयारी छ ।

विद्यार्थीलाई सीपमुलक शिक्षा र रोजगारीमुलक शिक्षा दिँदै, व्यसाय र रोजगारीका अवसरहरू पहिचान गर्न, उच्चशिक्षा छनौट गर्न र रोजगारमा जोडन मद्दत गर्ने स्कूलले जनाएको छ । व्यवस्थापन संकाय प्रमुख केशव न्यौपानेले पढाइका क्रममा आफुले युरोपमा देखेका र भोगेका सिकाइ तथा प्रविधिहरु विद्यार्थीलाई बाढ्ने साथै रोजगारी तथा उद्यमशीलतासँग जोडन यी कोर्ष तथा विषयहरुलाई उपयोगी बनाउने बताउनुभयो ।

यस्तै फेशन डिजाइन प्रशिक्षक शिक्षा श्रेष्ठले यो कोर्षले विद्यार्थीलाई उद्यमी बनाउने र नेपालको फेशन जगतमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले कोर्ष सके पछि देश तथा विदेशमा रोजगारी, इन्टर्नसीप र उद्यमी हुन चाहनेका लागि पनि प्रशस्त सम्भावना रहेको जनाउनुभयो ।

विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र पर्यटन अध्यापन गराइरहेको विद्यालयले विद्यार्थीका लागि अभ्यास गर्न प्रशस्त व्यवस्था गरिहेको र त्यसले विद्यार्थीमा सैद्धान्तिक भन्दा व्यवहारिक शीप विकासमा जोड दिएको होटल व्यवस्थापन संकाय प्रमुख विश्वराज पन्तले बताउनुभयो । विद्यालयका निर्देशक गुणानन्द महतोका अनुसार कोरोना भाइरस (कोभिड– १९) बाट आक्रान्त भएको अवस्थामा विद्यार्थीलाई सहज बनाउन फेसन डिजाइनमा ५० प्रतिशत र अन्य सबै विषयमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

शुक्रबार, २६ भदौ, २०७७, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर