प्रधानमन्त्रीलाई कोरोनाको डर ! जोगिएर काम गर्न निर्देशन

काठमाडौं । हक्की र निडर शैलीका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले हिंजो (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिनुभएको हो । यसअघिको मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि हिंजोको बैठकमा उपस्थित हुनु्हुन्थ्यो । कोरोना लागेको आशंकामा थापा र पोखरेल केही दिन आइसोलेसनमा बस्नुभएको थियो । यद्यपि दुवैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।

हिंजोको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने अनुपस्थित हुनुहुन्थ्यो । त्यही सन्दर्भमा आवश्यक निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भिआइपीहरुमा पनि कोरोनाको आशंका बढेको र आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

भारतीय गृहमन्त्री अमित शाहलाई समेत कोरोना संक्रमण देखिएको र कतिपय प्रान्तमा मन्त्रीकोसमेत मृत्यु भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई सतर्क रहन निर्देशन दिनुभएको थियो ।

गत साउनमा भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । अहिले उनी संक्रमण मुक्त भइसकेका छन् । त्यस्तै, साउनमै उत्तरप्रदेशकी प्रान्तीय मन्त्री कमला रानी बरुणको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

स्रोतः अनलाइनखबर

सोमबार, १५ भदौ, २०७७, दिउँसोको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर