एभरेष्टमा प्रभावकारी बन्दै अनलाईन कक्षा

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलले अनलाईन कक्षालाई पूर्णरुपमा प्रभावकारी बनाउन सफल भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले मुलुक बन्दाबन्दी भएपछि वैकल्पिक रुपमा थालिएको अनलाईन कक्षालाई प्रभावकारी बनाउन सफल भएको एभरेष्टले जनाएको छ ।

नयाँ अभ्यासका रुपमा थालिएको अनलाईन कक्षामा विद्यालयको कक्षा ११ र १२ का ९० प्रतिशतभन्दा बढी र कक्षा नर्सरीदेखि १० सम्म ८५ प्रतिशत विद्यार्थीले हरेक दिन उत्साहप्रद सहभागिता जनाउने गरेका छन् । उपस्थितिसँगै उनीहरुको सिकाई पनि समान रुपमा विकास भइरहेको शिक्षकहरुको भनाई छ ।

कक्षा १२ की छात्रा अविशा निरौलाले कक्षाकोठामा बसेझंै अन्तरक्रियासहित अध्ययापन हुने गरेको बताइन् । अहिले कोर्ष पूरा भएपनि कुनै जिज्ञासा हुँदा अनलाईनबाट समाधान खोज्ने वातावरण रहेको उनको भनाइ छ ।

कोभिडका कारण कक्षा ११ र १२ को परिक्षासमेत हुन नपाइरहेको सन्दर्भमा एभरेष्टले भने कक्षा ११ का विद्यार्थीहरुलाई परीक्षा अगावै १२ को समेत अध्यापन गराइरहेको छ । यस्तै एसईईको परीक्षाफल कुरेर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना ह्ुनुपूर्व निःशुल्क ब्रिजकोर्षको अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यालयका सहप्राचार्य नवराज कोइरालाका अनुसार कक्षा ११ को सम्पूर्ण पाठ सकेर उनीहरुलाई १२ कक्षाको अध्यापन शुरु गरिएको हो । एससईईको नतिजा प्रकाशनसँगै एभरेष्टले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कानून संकायमा कक्षा ११ को नयाँ कक्षा सञ्चालनको तयारी गरेको छ ।

सहप्राचार्य कोइरालाले विद्यालय सञ्चालनहुने वातावरण तयार नहुँदा अनलाईन कक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । विद्यार्थी विद्यालय आउने वातावरण हुँदा पूर्ण रुपमा आवश्यक मापदण्ड पालना र सतर्कता अपनाउने विद्यालयले जनाएको छ । यसका लागि विद्यार्थीलाई क्रमांकको आधारमा जोर विजोर बनाई सोहि अनुसार कक्षा सञ्चालन गर्ने तयारी गर्दै गरेको एभरेष्टले विद्यार्थीलाई विद्यालय प्रवेशद्वारमा नै सेनिटाइज गर्ने, मास्कलाई अनिवार्य गर्दै सेनिटाइज गरिएको कक्षाकोठामा आवश्यक दुरी कायम गरि अध्ययापन गराउने जनाएको छ ।

पटक–पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार र पदक जित्न सफल एभरेष्ट अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ । अत्याधुनिक ल्याव, सुविधासम्पन्न लाइब्रेरी रहेको एभरेष्टले नविनतम् प्रविधिको प्रयोग गर्ने गरेको छ । ५ तारे होटलको जस्ता सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्दै अघि बढेको एभरेष्टले करौडोंको लगानी गर्दै हरेक कक्षाकोठालाई वाताअनुकुलित बनाएको छ ।

२०५० सालमा ८४ जनाविद्यार्थीबाट शुरु भएको एभरेष्टमा अहिले २५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्राचार्य टीकाराम पुरीका अनुसार विद्यालय टिमको मेहनत र दृढ ईच्छाशक्तिलाई अभिभावक र विद्यार्थीले बुझिदिएका छन् । नर्सरीदेखि स्नातकोत्तरसम्म अध्ययापन गर्ने तयारी गर्दै गरेको एभरेष्टले यसै सत्रदेखि स्नातकतहको अध्यापन गर्ने प्राचार्य पुरीले बताउनुभयो ।

शुक्रबार, १६ साउन, २०७७, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर