प्रदेश १ का शिक्षकहरु प्रविधिमा सवल बन्दै

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै गएको बताउनुभएको छ ।

शिक्षकहरुले सामुदायिक विद्यालयप्रतिको हेराईलाई जवाफ दिएको भन्दै मन्त्री घिमिरेले सामुदायिक विद्यालय अंगे्रजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाई अब फेरिने दावी गर्नुभयो ।

प्रदेश १ का शिक्षकहरुको अनलाईन परियोजना प्रस्तुति कार्यक्रममा सोमबार मन्त्री घिमिरेले लकडाउनको अवधिमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । उत्कृष्ट प्रस्तुतिलाई सम्मान गरिने उल्लेख गर्दै उहाँले सबैले उत्कृष्ठता प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर बृद्धिमा सूचना प्रविधि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्धिमुलक काम भएको बताउनुभयो ।

इक्वालिटी फाउण्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश १ सरकारले शुरु गरेको कार्यको प्रशंसा गर्नुभयो । दुई महिनाको अवधिमा शिक्षकहरुले सूचना प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हाँसिल गरेको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धि अनलाईन शिक्षक तालिम सञ्चालन गरेको थियो । परियोजना कार्यप्रस्तुती कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको थियो । तालिममा सहभागी शिक्षकमध्ये ५० प्रतिशत बढीले परियोजना कार्य गर्नसक्ने भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, ०९ असार, २०७७, बिहानको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर