जैविक विविधताको क्षतिले संक्रामक रोग बढाउने

विराटनगर । विश्व वातावरण दिवस, जून ५ को अवसरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जैविक विविधतामा धेरै क्षति पुगेका कारण मानव समुदाय असुरक्षित बन्दै गइरहेको बताएका छन् ।

नेपाल जैविक समाज र स्नातकोत्तर क्याम्पस विराटनगरले संयुक्त रुपमा आयोजना गरेको सो भर्चुअल कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले जैविक विविधता क्षयीकरण भइरहेका कारणले संक्रामक रोगहरुको प्रकोप बढेको औँल्याए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले मानिसले प्रकृतिमाथि गरेको दोहनका कारण प्रकृतिले मानिस माथि धावा बोलेको छ र सोको प्रमाणस्वरुप कोभिड १९ आएको बताउनुभयो । सन्तुलित वातावरण,विकास र अर्थव्यवस्थाको सन्तुलित समन्वय नभए वातावरण बिग्रिने अनि त्यसको असरको सामना मानिसले गर्नुपर्ने अवस्था आउने उहाँको तर्क थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरणका जानकार, पत्रकार रामचन्द्र अधिकारीले रैथाने प्रजातिको लोप तीव्र गतिमा भइरहको कारणले यस्ताको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयोे– अरु जीवजन्तुको विनाश हुनु भनेको मानिस जोखिममा पर्नु हो किनभने जति विनाश बढ्छ संक्रामक रोगको प्रकोप उति बढ्छ । विभिन्न महामारीहरु जैविक विविधताको नाशकै कारणले पनि उब्जाएको हुनाले मानिसको जीवनशैली,खानपान र प्रकृतिमाथिको औधि प्रयोगमा नियन्त्रण गर्नुपर्छ ।

कार्यक्रममा गोपाल पोखरेल, नारायण रेग्मी, जीवन गुरुङ, ललितनारायण मण्डरलगायतले धारणा राखेका थिए । जुम मिटङमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरानका प्रमुख डा.दिलकुमार लिम्बू, मेची क्याम्पस भद्रपुरका सहायक क्याम्पस प्रमुख डा.कृष्णप्रसाद भट्टराई, स्नातकोत्तर क्याम्पसका सहायक प्रमुख शालीग्राम अधिकारी, पूर्वप्रमुख डा.मनोज राउत, प्राणीशास्त्र विभाग प्रमुख प्रा.डा.दामोदर थापा, वनस्पति शास्त्र विभाग प्रमुख प्रा.डा.उमेश कोइराला, पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. मीनराज ढकाल, महेन्द्र मोरङ क्याम्पस वनस्पति विभाग प्रमुख ललितनारायण, प्रा.डा. टीएन मण्डल, प्रा.डा. शिव राईलगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, २३ जेठ, २०७७, रातीको ०९:०६ बजे

सम्बन्धित खवर