विराटनगर । चीनसँग सीमा जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकामा नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध भएपछि स्थानीयवासी सञ्चार समस्यामा परेका छन्। शुक्रबारदेखि सेवा अचानक बन्द भएपछि दैनिक सूचना आदानप्रदानदेखि अनलाइन सेवासम्म प्रभावित बनेका छन्।
वडा अध्यक्ष नुर्पु च्यावाका अनुसार क्षेत्रभरि फोरजी सेवा एक्कासि बन्द भएको हो। समस्या देखिएलगत्तै नेपाल टेलिकमलाई जानकारी गराएर सेवा तत्काल सुचारु गर्न आग्रह गरिएको उनले बताए।
सञ्चार सेवा अवरुद्ध भएपछि स्थानीयले आफन्तसँग सम्पर्क गर्न, अनलाइन माध्यमबाट सेवा लिन तथा अत्यावश्यक सूचना आदानप्रदान गर्न कठिनाइ भोगिरहेका छन्। सीमावर्ती क्षेत्रमा सञ्चार नै मुख्य माध्यम भएकाले यसको असर दैनिक जनजीवनमा प्रत्यक्ष परेको स्थानीयको भनाइ छ।
नेपाल–चीन सीमामा अवस्थित किमाथांका व्यापारिक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। यहाँको फोरजी सेवा बन्द हुँदा स्थानीय बासिन्दासँगै सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण र व्यवसायीसमेत प्रभावित भएका छन्।
सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्न लामो यात्रा गर्नुपर्ने भएकाले प्राविधिक समस्या समाधानमा ढिलाइ हुन सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। उनीहरूले अवरुद्ध सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।