लोड हुँदैछ...

मेनु

मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा धमाधम शैक्षिक कार्यक्रमहरूको स्तरोन्नति

मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा धमाधम शैक्षिक कार्यक्रमहरूको स्तरोन्नति

विराटनगर । आफ्नो लक्ष्य पछ्याउन कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले धमाधम शैक्षिक कार्यक्रमहरूको स्तरोन्नति गर्न थालेको छ। २०७६ सालमा स्थापना भएर २०७८ बाट पठनपाठन सुरु गरेको मोरङ, बुढीगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) ले स्नातक तहदेखिका शैक्षिक कार्यक्रमहरूलाई स्नातकोत्तर तहमा स्तरोन्नति गर्न थालेको हो।

कानुन, हस्पिटल म्यानेजमेन्ट एण्ड हेल्थकेयर विषयमा स्नातकोत्तर सुरु गरिसकेको मनमोहनले इन्जिनियरिङतर्फ ‘पावर सिस्टम’ मा पनि स्नातकोत्तर तहको पढाइ यही वैशाखदेखि सुरु गराएको छ। कोशी प्रदेश सरकारले स्थापना गरेपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा परिचित मनमोहनले आफ्नो १० वर्षे रणनीति सफल बनाउन सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरूको स्तर वृद्धि गर्न थालेको उपकुलपति डा. सुवासश्री पोखरेलले बताए। उनका अनुसार हाल कानुन, इन्जिनियरिङ र अस्पताल व्यवस्थापनमा स्नातकोत्तर कक्षा सञ्चालन गरिसकेको विश्वविद्यालयले चाँडै विभिन्न विषयमा डिग्रीका साथै विद्यावारिधि (पिएचडी) कार्यक्रम पनि सञ्चालन गर्न गइरहेको छ।

मोरङको बुढीगंगा–४, हात्तीमुढामा २१ बिघा क्षेत्रफलमा फैलिएको केन्द्रीय कार्यालयसहित ५० अर्बभन्दा बढीको आधुनिक भौतिक पूर्वाधार निर्माण गरिसकेको मनमोहन प्राविधिक विश्वविद्यालयमा २०७८ सालदेखि उच्च प्राविधिक शिक्षा सञ्चालन हुँदै आएको छ। यस विश्वविद्यालयमा विभिन्न ८ प्रकारका प्राविधिक विषयमा तीन वर्षे डिप्लोमा तहका विद्यार्थीहरू पनि अध्ययन गर्दै आइरहेका छन्।

उपकुलपति पोखरेलका अनुसार आधारभूत, मध्यम तथा उच्चस्तरको दक्ष जनशक्ति उत्पादन गर्ने क्षमतायुक्त यस विश्वविद्यालयले आगामी १० वर्षभित्र दक्षिण एसियामै परिचित हुने लक्ष्य लिएको छ। उपकुलपति पोखरेलले भने, “हामी डिप्लोमादेखि स्नातक र स्नातकोत्तर हुँदै पिएचडीसम्मको अध्ययन गराउने योजना अनुसार अघि बढिरहेका छौँ, चाँडै उपलब्धि निकाल्नेछौँ।”

जम्मा तीनवटा स्कुल रहेको एमटियुमा हाल स्नातक तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, फार्मेसी र बिबिए-एलएलबीको पढाइ हुँदै आएको छ। त्यसैगरी स्नातकोत्तरतर्फ कानुनमा एलएलएम, हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट र इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा पढाइ भइरहेको छ। यसै शैक्षिक सत्रदेखि मनोचिकित्सा सम्बन्धी परामर्शदाता (साइकोलोजिस्ट) को स्नातकोत्तर कक्षा पनि सञ्चालन हुँदैछ।

उपकुलपति पोखरेलका अनुसार मनमोहन विश्वविद्यालयले चाँडै मेडिकलतर्फका बी.एससी नर्सिङ, अप्टोमेट्री, रेडियोलोजी, ल्याब टेक्नोलोजी, फिजियोथेरापी तथा एमबिबिएस/एमडी कार्यक्रम पठनपाठन सुरु गराउने तयारी गरेको छ। साथै बायोमेडिकल इन्जिनियरिङ, प्राकृतिक चिकित्सा तथा योग विज्ञान, रेल्वे इन्जिनियरिङ र टनेल इन्जिनियरिङ जस्ता नयाँ कोर्सहरू पनि सञ्चालनको तयारीमा छन्।

यस्तै, विश्वविद्यालयले हालसम्म ५० जना योग शिक्षक उत्पादन गरिसकेको छ, जसलाई सर्वसाधारणले योग प्रशिक्षकका रूपमा उपयोग गरिरहेका छन्। एमटियुले आफ्नै प्रयोगशालामा अनुसन्धान गरेर ‘मनमोहन सन्चो’ र ‘भिक्स’ जस्ता आयुर्वेदिक औषधिको पनि सफल उत्पादन गरिसकेको छ। यस विश्वविद्यालयबाट बर्सेनि विभिन्न ८ वटा प्राविधिक विषयमा तीन वर्षे डिप्लोमा अध्ययन गरेर विद्यार्थीहरू उत्तीर्ण हुँदै आएका छन्।

देशका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर स्थापना भएको मनमोहन प्राविधिक विश्वविद्यालयले निजी कलेजहरूलाई सम्बन्धन नदिने नीति लिएको छ। यस विश्वविद्यालयले सबै शैक्षिक कार्यक्रमहरू आफ्नै संकायहरू मातहतका आंगिक कलेजहरूबाट मात्र सञ्चालन गर्दछ।

एमटियुमा हाल आफ्नै अनुसन्धान केन्द्र, वर्कशप, वाटर टेस्टिङ ल्याब, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स ल्याब, सिभिल इन्जिनियरिङ ल्याब र निर्माण सामग्रीको गुणस्तर परीक्षण प्रयोगशालाहरू रहेका छन्। विश्वविद्यालयले भौतिक सामग्रीको गुणस्तर परीक्षण गर्ने ल्याब व्यावसायिक प्रयोगका लागि सबैका लागि खुला गरेको छ।

मनमोहन प्राविधिक विश्वविद्यालयले १८ वटा नयाँ पाठ्यक्रम निर्माण गर्ने, ५ विषयमा पिएचडी, १० विषयमा स्नातकोत्तर र १२ विषयमा स्नातक तहको पढाइ सञ्चालन गर्ने दूरदर्शी लक्ष्य लिएको छ। पानी, जडीबुटी, औषधि, एनिमल टेस्टिङ, फरेन्सिक, जेनेटिक्स, सुपर कम्प्युटर, हेमाटोलोजी, फिजियोथेरापी र इकोलोजी आदि अनुसन्धान केन्द्रहरू स्थापना गर्ने, १८ वटा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समझदारी (एमओयू) गर्ने, विदेशी विशेषज्ञ शिक्षकहरू नियुक्त गर्ने, तारामण्डल र संग्रहालयसहितको विज्ञान पार्क निर्माण गर्ने, आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्ने जस्ता महत्त्वाकांक्षी योजनाहरू पनि मनमोहनले बनाएको छ। साथै, भौतिक पूर्वाधार अन्तर्गत अडिटोरियम, ग्रोसरी कम्प्लेक्स, स्मार्ट सिटी, कानुन ब्लक, एनिमल हाउस, इलेक्ट्रिक टेस्टिङ सेन्टर र चन्द्रयान निर्माणका लागि स्पेस सेन्टर निर्माण गर्ने लक्ष्य समेत विश्वविद्यालयको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।