लोड हुँदैछ...

मेनु

इन्धन संकटको सन्त्रास

ग्याँसको लाइन छाडेर बिजुलीतिर मोडिँदै उपभोक्ता

ग्याँसको लाइन छाडेर बिजुलीतिर मोडिँदै उपभोक्ता

विराटनगर । मध्यपूर्वमा चुलिँदो भू–राजनीतिक तनाव र त्यसले निम्त्याएको सम्भावित इन्धन संकटको पराकम्प नेपाली भान्सासम्म पुगेको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको हमला र त्यसपछि महत्वपूर्ण मानिने ‘हर्मुज नाका’मा सिर्जना भएको अवरोधका कारण विश्वव्यापी रूपमा एलपी ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भइरहेको छ ।

विश्व बजारमा ग्याँसको अभाव र मूल्य आकाशि रहेको बेला नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले आधा शिलिण्डर ग्याँस वितरण गर्न निर्देशन दिनु र भरेको शिलिण्डर लिन लामो लाइन लाग्नुपर्ने अवस्था अहिले नै देखिन थालेको छ । यही समस्याका बाबजुत नेपालका उपभोक्ता अहिले वैकल्पिक ऊर्जा, विशेषगरी इलेक्ट्रिक चुल्होतिर आकर्षित हुन थालेका छन् ।

विराटनगर ४ की विनिता पोखरेलले इन्डक्सन चुल्हो प्रयोग गरेको लामो समय भयो । उनको अनुभवमा इन्डक्सन चुल्हो प्रयोग गर्दा एक त भान्सा सस्तो भएको छ भने अर्कोतिर ग्याँस अभाव हुँदा पनि आत्तिनु पर्ने अवस्था छैन । उनी भन्छिन्, ‘सुरुमा ग्याँसकै बानी थियो, तर अहिले बिजुलीमा पकाउँदा पैसाको पनि बचत भएको छ । युद्ध भइरहेको छ, ग्याँस आउँदैन रे भन्ने सुन्दा पनि अहिले मलाई खासै तनाव छैन ।’

उनीजस्तै अहिले अधिकांश मानिसहरू बजारमा एलपी ग्याँस अभाव हुँदा सिलिण्डर लिन लाइन बस्नु भन्दा इन्डक्सन चुल्हो प्रयोग गर्नतिर आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरान र इजरायलबीचको द्वन्द्वले खाडी क्षेत्रबाट हुने इन्धन आपूर्तिमा ठुलो जोखिम निम्त्याएको छ । हर्मुज नाका जहाँबाट विश्वको झण्डै एक तिहाइ तरल प्राकृतिक ग्याँस ओसारपसार हुन्छ । त्यहाँ अवरोध हुँदा नेपालजस्ता आयातमा निर्भर देशहरूलाई सबैभन्दा बढी असर पर्ने निश्चित छ ।

यही संकटको संकेत पाएपछि विराटनगर १२ का आयुष थापा इन्डक्सन चुल्हो खरिदका लागि विराटनगरको मेन बजारस्थित अरुण इलेक्ट्रोनिक्स पुगे र चुल्हो खरिद गरे । उनले ग्याँस अभाव हुने त्रासका कारण इलेक्ट्रिक चुल्हो लिन लागेको बताए । ‘ग्याँस अभाव हुने सुनिएको छ । एउटा सिलिण्डर लिन लाइन बस्नु परेको भिडियोहरू पनि हेरिरहेका छौँ । त्यसो गर्नुभन्दा इन्डक्सन चुल्हो किन्नु नै ढुक्क हुन्छ भनेर आएको,’ उनले भने, ‘अहिले ग्यासहरू पनि सर्टेज जस्तो देखिन्छ, आधा सिलिन्डर पनि दिइरहेका छैनन् । अब यो पनि बन्द भयो भने त गाह्रो हुन्छ । बरु बिजुली त आफ्नै देशको उत्पादन हो, यो त बन्द हुँदैन नि त, एटलिस्ट पकाएर खान त पाइयो ।’

व्यवसायीहरूका अनुसार पनि अहिले विद्युतीय चुल्होको मागमा अप्रत्याशित वृद्धि भएको छ । अरुण इलेक्ट्रोनिक्सका सञ्चालक अरुण अग्रवालका अनुसार विगतका हप्ताहरूमा भन्दा अहिले ग्राहकको चाप धेरै छ । ‘पहिले दैनिक १–२ वटा चुल्हो विक्री हुन्थ्यो । अहिले त दैनिक १० वटासम्म विक्री भइरहेको छ,’ अग्रवालले भने, ‘अन्तर्राष्ट्रिय बजारमा ग्याँसको अभाव भएको खबरले मानिसहरू डराएका छन् । इलेक्ट्रिक चुल्होको आयात र विक्री दुवै दिनप्रतिदिन बढ्दो क्रममा छ ।’ उनले इलेक्ट्रिक चुल्हो प्रयोग गर्दा समस्या पो हुने हो कि भन्ने अझै पनि उपभोक्तामा डर रहेको बताए । यद्यपि त्यस्तो समस्या अहिलेसम्म नदेखिएको उनको अनुभव छ ।

भन्सार विभागको तथ्याङ्कले पनि नेपाली समाज बिस्तारै विद्युतीय भान्सातर्फ रूपान्तरण भइरहेको पुष्टि गर्छ । विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको फागुन महिनासम्ममा मात्रै ३० करोड ४१ लाख १२ हजार मूल्य बराबरका १ लाख ४७ हजार ८६४ थान इलेक्ट्रिक चुल्हो नेपाल भित्रिएका छन् । जसमा इन्डक्सन चुल्होको हिस्सा सबैभन्दा ठूलो छ । तथ्याङ्क अनुसार २२ करोड २७ लाख ५ हजार बराबरको १ लाख ४ हजार ७१७ थान इन्डक्सन चुल्हो आयात भएको छ । यस्तै, ७ करोड ६७ लाख ७ हजार बराबरको ४२ हजार २१८ वटा इन्फ्रारेड चुल्हो र अन्य इलेक्ट्रिक स्टोभहरू ९२९ थान आएका छन् ।

राजस्व सङ्कलनको पाटोबाट हेर्दा पनि यी विद्युतीय उपकरणहरू राज्यका लागि आम्दानीको स्रोत बनेका छन् । इन्डक्सन, इन्फ्रारेड र अन्य गरी तीनवटै वस्तुबाट भन्सार विभागले ४ करोड ३३ लाख ७ हजार बराबरको भन्सार राजस्व प्राप्त गरेको छ । माघ मसान्तसम्ममा तीनवटै वस्तु आयातको संख्या १ लाख ३९ हजार ६३३ थान रहेकोमा फागुन महिनामा मात्रै थप ८ हजार २३१ थान बढी सामान भित्रिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तथ्याङ्कसँग तुलना गर्दा यो वर्ष आयातको दर अझै बढ्ने देखिन्छ । गत वर्ष इन्डक्सन, इन्फ्रारेड र अन्य गरी जम्मा ४६ करोड ९१ लाख ६७ हजार मूल्य बराबरको २ लाख ३९ हजार १७२ थान चुल्हो आयात भएको थियो । जसबाट राज्यले ६ करोड ६८ लाख ५ हजार भन्सार महसुल उठाएको थियो । चालू आर्थिक वर्ष सकिन अझै ५ महिना बाँकी रहेको र विश्वव्यापी युद्धको असरका कारण आयातको ग्राफ उकालो लाग्न सुरु गरेको छ । विक्रेता अग्रवालका अनुसार यो वर्ष चुल्हो आयातले पुरानो रेकर्ड तोड्न सक्ने अनुमान गर्न सकिन्छ ।

नेपालले अर्बौँ रुपैयाँ खर्चिएर भारतबाट एलपी ग्याँस आयात गर्दै आएको छ । तर, हर्मुज नाकामा हुने अवरोधले भारतमै ग्याँसको आपूर्ति कम हुन सक्छ, जसको सीधा असर नेपालमा पर्नेछ । यस्तो अवस्थामा स्वदेशमै उत्पादित जलविद्युतको प्रयोग बढाउनुको विकल्प छैन ।

विद्युतीय चुल्होको प्रयोग बढ्नु सकारात्मक पक्ष भए पनि सरकारले विद्युतको नियमित आपूर्तिमा ध्यान दिनु जरुरी देखिएको उपभोक्ता बताउँछन् । ‘हामी ग्याँसको लाइनबाट मुक्त हुन त चाहन्छौं, तर अघोषित लोडसेडिङ वा लो–भोल्टेजका कारण फेरि समस्यामा परिने हो कि भन्ने डर छ,’ मोरङ कटहरीका बब्लु मिश्र भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।