विराटनगर । मधेसी समुदायलाई जोडेर गरेको अमर्यादित टिप्पणीका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कार्वाही हुनुपर्ने माग उठेको छ ।
एकपछि अर्को विवादमा पर्दै गएका शेर्पाले दिएको पछिल्लो अभिव्यक्तिबारे संघीय संसदमा पनि सांसदहरुले कुरा उठाउँदै उनीमाथि कार्वाहीको माग गरेका हुन् ।
बुधबारको संसद बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले शेर्पाको अभिव्यक्तिमा आपत्ति जनाउँदै कार्वाहीको माग गर्नुभएको हो । शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै उहाँले मधेसीलाई सेनाको माध्यमबाट राष्ट्रिय गान सिकाउँदैछु भन्ने अभिव्यक्ति आपत्तीजनक रहेको बताउनुभयो ।
‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ ,’ सांसद श्रीवास्तवले भन्नुभयो, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदैछु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ति जिम्मेवार व्यक्तिलाई छानविन गरि आवश्यक कारवाही गर्न सभामुखमार्फत माग गर्दछु ।’
एक साता अगाडि एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन समाचार पोर्टललाई दिएको भर्चुअल अन्तर्वार्तामा तराईमा राष्ट्रियताको फिलिङ कम भएको बताएका थिए । सेनासँग मिलेर काम गरिरहेको बताउँदै उनले ब्यारेक आउँदा मधेसीले पनि कम्तीमा राष्ट्रिय गीत गाउने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।
अध्यक्ष शेर्पाको अभिव्यक्ति मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न उठाउने मात्र नभएर एन्फाको विधान विपरित पनि छ । एन्फा विधानको धारा ३ मा कुनै व्यक्ति, देश वा समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिङ्ग, अशक्तता, भाषा लगायतको विषयमा कार्य गरे निलम्बन, निस्काशन र अनुशानात्मक कारबाही गर्न सकिने प्रष्ट उल्लेख छ ।
एन्फाले नेपाली सेनासँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको शेर्पाले बताएका छन् । उक्त कार्यक्रम तराईमा राष्ट्रियता सिकाउनको लागि भएको उनको भनाइ थियो ।