लोड हुँदैछ...

मेनु

भोलि बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुने

भोलि बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुने

काठमाडौँ । नेपाल चिकित्सक संघले भोलि बुधबार पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले चासो नदेखाएको भन्दै संघले आन्दोलनलाई निरन्तरता दिएको हो।

साउन ८ गते वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि साङ्घातिक आक्रमण भएको र अस्पतालमा तोडफोड गरिएको थियो। घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा नल्याइएको र उल्टै वार्ताका लागि गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको चिकित्सक संघको आरोप छ।

बुधबार बिहान १० बजे चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्नेछन्।
उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आ – आफ्नो स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

नेपाल चिकित्सक संघले आफ्नो आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा यो आन्दोलन बाध्यता भएको उल्लेख गरेको छ। आन्दोलनका कारण बिरामी र आम नागरिकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै संघले यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।
यसअघि पनि संघले चिकित्सकमाथि राज्यले दमन गरेको भन्दै मंगलबार देशभरका अस्पतालहरूमा सेवा ठप्प पारेको थियो। प्रशासनले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने संकेत संघले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds