लोड हुँदैछ...

मेनु

सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल

सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल

विराटनगर । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गरेको छ । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न हिंसात्मक घटनाहरु उग्र बनिरहँदा प्रधानमन्त्री कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम गर्न अपिल गरेको हो ।

नेपाली समाज सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावमा रहँदै आएको स्मरण गराउँदै सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट पारेको छ । ‘धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक–धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान समेत गरेको छ । सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो परिस्थितिमा सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले एक छानबिन समिति गठन गरेको उल्लेख छ । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ भने समितिले आफ्नो काम सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाको कारण र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसहितको प्रतिवेदन बुझाउनेछ ।

सरकारले उक्त घटनामा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाइसकेको सरकारले जनाएको छ । साथै, पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता समेत सरकारले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds