लोड हुँदैछ...

मेनु

मंगलबार दिनभर सुनसरी : कर्फ्यु लगाएर सेना परिचालन गर्दा पनि तनाव कायमै

मंगलबार दिनभर सुनसरी : कर्फ्यु लगाएर सेना परिचालन गर्दा पनि तनाव कायमै

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार दिनभर पनि साम्य हुन सकेन।

स्थानीय प्रशासनले कर्फ्यु जारी गर्दै नेपाली सेना परिचालन गरे पनि विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट, झडप र आक्रमणका घटना भइरहे।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसयता सुरु भएको विरोध प्रदर्शन मंगलबार झन् उग्र बनेको हो।

स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका विभिन्न बजार तथा पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यु जारी गरेको भए पनि प्रदर्शनकारीले त्यसको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गरे। सोमबार एक पक्ष मात्र सडकमा देखिएको भए पनि मंगलबार दुवै पक्ष आमनेसामने हुँदा स्थिति थप तनावपूर्ण बनेको थियो। झडप नियन्त्रण गर्न प्रहरीले विभिन्न स्थानमा अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेको थियो।

कोशी गाउँपालिकाको कोशी कटान क्षेत्रमा रहेका पसलमा आगजनी र लुटपाट भएको छ। लुटपाटका क्रममा होटलका कामदारमाथि कुटपिट हुनुका साथै धारिलो हतियारसमेत प्रहार गरिएको थियो। धारिलो हतियार र रड प्रहारबाट कोशी गाउँपालिका–४ का प्रेमकुमार मलाह माझी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार दिउँसो कप्तानगञ्ज क्षेत्रमा एक समूहले बस्तीमा प्रवेश गरी चारवटा घरमा आगजनी गरेको छ। प्रदर्शनकारीले बजारबाट बस्तीतर्फ जाने सडक अवरुद्ध पारेर घरहरूमा आगो लगाएका थिए।

यस्तै, देवानगञ्ज–२ का ४२ वर्षीय सञ्जय यादवमाथि पनि आक्रमण भएको छ। काम सकेर घर फर्किरहेका उनलाई देवानगञ्ज बजारस्थित पेट्रोल पम्प नजिक ३०–३५ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। उनको पनि न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

इनरुवा बजार बन्द गराउन निस्किएको समूह र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रणमा लिएको थियो। घुस्की क्षेत्रमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक बलराम यादव घाइते भएका छन्। उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपीले प्रयोग गर्ने दुईवटा सरकारी गाडीसमेत तोडफोड गरेका छन्।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना पनि परिचालन गरिएको थियो। हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह गाउँपालिका तथा कोशी गाउँपालिकाका संवेदनशील क्षेत्रमा सेनाले गस्ती गरेको थियो। हरिनगरको सीमावर्ती घुस्की क्षेत्रमा सेनाले प्रदर्शनकारीलाई अघि बढ्न रोकेको थियो भने बस्तीहरूमा हवाई गस्तीसमेत गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले अवस्था पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्यु यथावत् राखिएको बताए। उनका अनुसार पूर्व–पश्चिम राजमार्गको कोशी कटानदेखि पकलीसम्म २०० मिटर आसपास, इनरुवा बजार तथा दक्षिणी क्षेत्रका पाँच बजारमा कर्फ्यु लागू रहेको छ।

यसबीच प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालसहितको टोली मृतक ओमप्रकाश मेहताको घर पुगेको छ। टोलीले परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

देवानगञ्ज गाउँपालिकामा मंगलबार बसेको सर्वदलीय बैठकले मृतकलाई शहीद घोषणा गर्न, घाइतेको निःशुल्क उपचार, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

उता, गृहमन्त्रालयले गठन गरेको छानबिन समिति पनि सुनसरी पुगिसकेको छ। समितिले घाइतेहरूको बयान लिइसकेको छ भने बुधबारदेखि घटनास्थलमा पुगेर प्रत्यक्षदर्शीसँग बयान लिने र घटनाको विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds