उसलाई रातो असाध्यै मन पर्थ्यो
रातो घाँगर र रातो रिबनमा
पुतली जस्तै राम्री देखिन्थी ऊ
समयले उसलाई पनि रातै बनाईदियो
त्यो पनि मनपराई
बसन्त फुलेर रातै हुन्थ्यो बैशाख,
सजाउँथी आफ्नो चुल्ठो
टिपेर रातो गुराँस
उसका ओंठहरुमा सर्थ्यो गुराँसको रातो
उसलाई रातो असाध्यै मन पर्थ्यो
सारी, पोते र सिन्दुरको रातोमा
आफुलाई नामसारी गरी
र सम्झी त्यसैलाई सौभाग्य
आफैंले मुछेको टिका पनि रातै थियो
पहिलो पल्ट उसलाई रातो मनपरेन
त्यो उसको लोग्ने मुग्लान जाने साइतको रातो थियो
खरको छानोको ठाउँ
रातो टिनले लियो
उसँग पनि थिई
रातो घाँगर र रातो रिबनमा सजिने
सानी पुतली
अचेल उसलाई रातो पटक्कै मन पर्दैन
उसको लोग्नेलाई फर्काएको
बाकस पनि रातै थियो ।
डण्डा, नवलपरासी, हाल अमेरिका