४ महिने शिशुसहित १८ जनाले कोरोना जिते

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ महिने शिशुसहित एकै परिवारका १८ जना कोरोनामुक्त भएका छन् ।

दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार राति उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म छन् । डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेको अस्प्तालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

उनीहरु वीरगन्ज महानगरपालिका ३ का वासिन्दा हुन् । गत वैशाख २१ मा ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएकोमा सबैमा कोरोना देखिएको थियो ।

चिकित्सकका अनुसार उनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको थिएन । शनिबार मात्र नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, बारा र रौतहटका ९ जना कोभिड १९ का बिरामी निको भएर डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालको आइसोलेसन र अस्थायी कोरोना अस्पताल गरि वीरगन्जमा अझै ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

योसँगै देशभर कोरोना निको हुनेको संख्या १०५ पुगेको छ । हालसम्म नेपालमा ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बाँके, सिन्धुपाल्चोक र गुल्मीका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार, १२ जेठ, २०७७, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर