विराटनगर । लकडाउनको फाइदा उठाएर नक्कली रक्सीको कारोबार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–६ शान्ति चौकस्थित घर भाडामा लिएर विभिन्न ब्राण्डको बोतलमा नक्कली रक्सी हालेर बिक्रि वितरण गर्दै आएका मदिरा व्यापारी श्रवण मुखियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विराटनगर–११ बसपार्कको उत्तरपट्टी रहेको योजित प्रधानको घरको कोठा भाडा लिएर ब्राण्डेड रक्सीको बोत्तलमा नक्कली रक्सी हालेर विक्री वितरण गर्दै गरेको बिशेष सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मुखियाले विराटनगर–११ स्थित न्यू.डि.एन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल लगाई नक्कली मदिरा बनाउने गरेको सुचना पाएपछि प्रहरीले उक्त स्थानबाट ठूलो परिमाणमा मदिरा पनि बरामद गरेको छ । प्रहरीले तयारी अवस्थामा राखिएको प्रहरीले ५ सय ३० बोत्तल नक्कली मदिरा बरामद गरेको हो ।
स्नातक तहमा अध्ययन गर्दै आएका मुखियाले १५ लाख बढी कर्जाको चापमा परेर विगत १ वर्षदेखि मदिराको अवैध कारोबार गर्दै आएको खुलेको छ । उनले बिक्री वितरण गर्दै आएका अधिकांश मदिरा पहिले नै बन्द भईसकेका हुन ।
मुखियाको पसलबाट गोल्डेन वक, गोल्डेन ग्लोब, मास्टर सेलेक्शन, पास पास, फाईटर, रोयल टे«जर, पुर्वाञ्चल स्पेशल, नेट वर्क, हिमालयन ड्रागन, सिग्नेचर र रुस्लान भोडका लगायतका ११ किसिमका ५ सय ३० बोतल नक्कली मदिराहरु बरामद गरिएको छ । मुखियाको घर र गोदामबाट ठूलो संख्यामा खाली बोत्तल र अन्तशुल्कको स्टीकर टाँसिएको बिर्कोे समेत फेला परेकोे मोरङ प्रहरीले जनाएको छ ।
मुखियाले नाम चलेको विभिन्न एक दर्जन ब्राण्डमा नक्कली रक्सी बनाएर बिक्री वितरण गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको रक्सी आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको मोरङ्ग प्रहरीका एस.पी विश्व अधिकारीले बताउनुभयो ।
बरामद भएको रक्सीको बोत्तलमा आन्तरिक राजस्व कार्यालयको स्टिकर समेत टाँस गरिएको छ । त्यसबारे आन्तरिक राजश्व कार्यालयले पनि थप अनुसन्धान गर्ने भएको छ ।