विर्तामोड । झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको कचनकवल गाउँपालिका सिल गरिएको छ।
भारतबाट आएका १० जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाका ५ वटा वडा सिल गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो।
भारतबाट आई गाउँपालिकाको क्वारेन्टाइनमा बसेकामध्ये सोमबार एक जना र मंगलबार ९ जनामा कोरोना देखिएको छ । संक्रमितहरु गत शनिबार पाठामारी नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।
दोहोरो अंकमा संक्रमित देखिपछि गाउँपालिका ७ वडामध्ये भारतसँग जोडिएका ५ वडा सिल गरिएको आलमले जानकारी दिनुभयो । गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा सिल गरिएको हो ।
पथरिया माविको क्वारेन्टाइनमा भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जनालाई राखिएको थियो । उनीहरूको स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो। अन्यको पनि रिपोर्ट पनि आउने क्रममा रहेको बताइएको छ।
सोमबार साँझ संक्रमित पुष्टि भएका पुरुषलाई कोसी अस्पताल विराटनगर उपचारको लागि पठाइसकेको छ भने मंगलबार थप ९ जनालाई पठाउने तयारी भइरहेको अध्यक्ष आलमले बताउनुभयो । संक्रमण बढेपछि गाउँपालिकाले केचनाको महेन्द्ररत्न माविमा क्वारेन्टाइन बनाउने भएको छ ।
अहिले पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा एक महिला गरी ६४ जना छन्। उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल र ट्रक चढेर आएका हुन्।
कचनकवलको ५ वटा वडा भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासँग जोडिएको छ। खुला सीमा कारण भारतबाट लुकिछिपी नेपाली नागरिक आउने क्रम जारी छ। बोर्डरसम्म आइपुगेका नेपालीहरूलाई भारतीय एसएसबीले पनि नेपाल प्रवेश गराएकोले सीमामा थप चुनौती देखिएको गाउँपालिकाले जनाएको छ ।

