इटहरी। सुनसरीको इटहरी २ का एक युवकमा कोरोना संक्रमण देखिएपछि दुई वटा वडा सिल गरिउको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले वडा नं. २ र ३ लाई जेठ ११ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।
वडा सिल गरेर संक्रमित युवक, युवकको परिवार र उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको छ । बैठकले इटहरी उपमहानगरभित्रका औषधी पसल बहेकका सबै पसल र आवतजावत पनि ५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
घरैमा वसेर लकडाउनको पूर्ण पालना गरि कोरोना नियन्त्रणको अभियानमा सहयोग गर्न नगरवासीमा उपमहानगरले आग्रह गरेको छ । संक्रमित भेटिएका युवाले इटहरीको एक क्लिनिकमा पनि उपचार गराएको पाइएकाले ९ जना स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।
मंगलबार इटहरी २ का १८ वर्षीय युवालाई वीपी प्रतिष्ठान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको प्रतिष्ठानमै उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उनलाई विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा पठाइएको छ ।