काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा केही मिनेट बोलेपछि प्रधानमन्त्री ओलीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताउनुभएको थियो । अपरेसन गरेकाले उभिएर बोल्न खुट्टामा समस्या भएको प्रधानमन्त्रीले बताउनुभएको थियो ।
बसेर बोल्ने व्यवस्था गरिदिन आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले कुर्सीको व्यवस्था गरिदिन संसदका महासचिबलाई निर्देशन दिनुभयो। त्यस क्रममा सापकोटाले आफ्नो सिटमै गएर सम्बोधन गर्ने कि भन्नुभएको थियो ।
तर, प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना राख्नुभएपछि कर्मचारीले रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरेका थिए ।