कोरोनाबिरुद्धको भ्याक्सिनमा उत्साहजनक नतिजा

एजेन्सी । अमेरिकामा कोभिड १९ बिरुद्धको एउटा भ्याक्सिन टेस्टको प्रारम्भिक नतिजा उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको बताएको छ ।

कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका ८ जनामा भ्याक्सिनले इम्युन रेस्पोन्स उत्पादन गरेको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकाश गरेको पहिलो चरणको डाटामा देखिएको छ कम्पनीले जनएको छ।

मोडेर्नाका प्रमुख मेडिकल अफिसर टाल ज्याक्सले यो परीक्षणबाट कोभिड १९ रोगलाई निरोध गर्नसक्ने सम्भावना उजागर भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारको स्वागत गरेका छन् । मोडेर्ना कम्पनी ९ वर्षअगाडि स्थापना गरिएको कम्पनी हो ।

कम्पनीले यो भ्याक्सिन सुरक्षित र राम्ररी सहन सकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्क हुने र लगाएको ठाउमा अलिअलि रातो हुने जनाइएको छ ।

अमेरिकी सरकारले मोडेर्नाको भ्याक्सिन क्यान्डिडेड विकासका लागि झण्डै ५ सय मिलियन डलर लगानी गरेको छ । यो भ्याक्सिन एन्थोनी फौजी नेतृत्वको नेशनल इन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजसँगको सहकार्यमा विकाश गरिदैछ ।

अहिलेसम्म १८ देखि ५५ बर्षसम्मका १५ बिरामीहरुलाई भ्याक्सिनका तीन भिन्न डोजहरु दिइएको छ । प्रारम्भिक नतिजा उत्साहजनक रहेपनि पूरै नतिजा भने आएको छैन । दोश्रो चरणमा अगाडि बढ्नका लागि मोडेर्नाले एफडीएबाट स्वीकृतिको ग्रिन सिग्नल पाइसकेको छ । जुन ६ सय जनामा परीक्षण गरिनेछ । तेश्रो चरणको परीक्षण निकै बृहत हुनेछ भने यो परीक्षण जुलाईमा सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरीसम्म आफूले ३ सय मिलियन भ्याक्सिनको डोज चाहेको बताएका छन् । ट्रम्प प्रशासनले त्यसका लागि मोडेर्ना, जोन्सन एण्ड जोन्सन र फ्रान्सको सानोफीलाई फण्ड उपलब्ध गराएको छ । खसोखासबाट

मङ्गलबार, ०६ जेठ, २०७७, बिहानको १०:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर