आयुष मृत्यु प्रकरणमा नयाँ मोड, ट्याक्टर चालक पक्राउ

आयुषका साथीलाई पनि मुद्दा चल्ने

विराटनगर । अघिल्लो दिन साथीहरुसँग बसेर मदिरा सेवन गरेका मोरङको कानेपोखरी–१ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको खुलेको छ ।

गत बुधबार राति साथीहरुसँग बसेर मदिरा सेवन गरेका गिरीको बेलबारीमा बिहीबार विहान शव भेटिएपछि उनका साथीहरु पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट सोही राति ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कुटपिट गरि हत्या भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुसन्धानमा पथरीशनिश्चरे नगरपालिका–९ का ४६ वर्षीय बद्री मगरले चलाएको ट्याक्टरले ठक्कर दिएर उनको मृत्यु भएको खुलेपछि उनलाई पक्राउ गरेको छ ।

बिहीबार विहान बेलबारी ७ दौतपुरस्थित नहरको डिलमा आयुषको शव फेला परेको थियो । घटनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष ब्यूरो टोली, मोरङ प्रहरी र इप्रका बेलबारीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानबाट रंगेलीको एक इँटाभट्टाबाट इँटा बोकेर केरौन चौकदेखि पश्चिम नहरको कच्ची सडक हुँदै आएको को २ त १२२५ नम्बर ट्याक्टरको ठक्करले आयुषको मृत्यु भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

‘बुधबार राति नहरको बाटो हुँदै ५ वटा ट्याक्टरमा इँटा बेलबारी ल्याएको देखियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘अन्तिममा आएको को २ त १२२५ नं. ट्याक्टर चालक मगरले चलाएको ट्याक्टरको ठक्करबाट आयुषको मृत्यु भएको पाइएको छ ।’ साथीहरूसँग मदिरा सेवन गरी नहरको बाटोबाट घर जाने क्रममा उनलाई ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

आयुषको बाहिर चोट नदेखिएपनि पोष्मार्टम रिपोर्टमा छातीको भित्र चोट देखिएको बेलबारी प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । पक्राउ परेका चालक मगरले पनि ट्याक्टरको ठक्करले आयुषको मृत्यु भएको प्रहरीसँगको बयानको क्रममा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट आयुषको मृत्यु भएपछि शवलाई नहरदेखि दक्षिण साइट लगाएर मगर बेलबारीस्थित एक हार्डवेयरमा इँटा झारेपछि कानेपोखरीबाट दक्षिण हुदै रंगेलीस्थित इँटाभट्टामा पुगेर सुतेका थिए । दुर्घटनापछि उनले ट््याक्टरका साहु र अन्य चालकहरुलाई पनि फोनमार्फत घटनाको जानकारी गराएका थिए ।

ट्याक्टर चालक मगरलाई आइतबार जिल्ला अदालत मोरङमा सवारी ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

आयुषका साथीलाई पनि मुद्दा चल्ने
मृत अवस्थामा शव फेला परेपछि बुधबार राति आयुषसँगै मदिरा सेवन गर्ने ९ जना विरुद्ध इप्रका बेलबारीले ‘अभद्र’ मा मुद्दा चलाउने भएको छ । मदिरा सेवन गरि रातभरी होहल्ला गरेकोले प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्रमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको हो ।

आइतबार, २८ बैशाख, २०७७, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर