काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा र विद्यार्थी संगठनले सिमानामा काँडेतार लगाउन माग गरेका छन् ।
आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा सुरक्षा फौज राख्न र काँडेतार लगाई घेराबार गर्न माग गरेका हुन् ।
दुई संगठनले सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई आग्रह गरेको जनाएका छन् । गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएको छन् ।
भारतले गत शुक्रबार तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले आइतबार परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । भारतबाट देशको सिमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्यहरु सार्वजनिक हुँदासमेत सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेको युवा संघका संयोजक सापकोटाले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताउनुभएको छ । युवा संघगठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेल तथा अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले ज्ञापनपत्र बुझाएका हुन् ।