काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या ५ हजार ५ सय ८१ पुग्दा ७८ जनाको मृत्यु भएको हो ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ भने अमेरिकामा १५ जनाले ज्यान गुमाएका छन् । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको मृत्यु भएको हो ।
यस्तै, संयुक्त अरब इमिरेट्स (युएई० मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक÷एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले जानकारी दिनुभयो । कोरोना भाइरसका यो हप्ता बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक÷एक जनाले ज्यान गुमाएका छन् ।
कोरोनाबाट संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु निको भएको बताइएको छ । विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको समितिले जनाएको छ ।
कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी स्पेन र अष्ट्रेलियामा १२/१२ जना तथा जापान र क्यानडामा १०/१० जना नेपाली संक्रमित छन् ।
यसैगरी बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४/४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ । यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३/३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २/२ जना तथा म्यानमार र फ्रान्समा १/१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।