संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी पनि डिस्चार्ज

संक्रमितको उपचारमा ७ दिन खटिएर १४ दिन क्वारेन्टाइनमा बसेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

विराटनगर । विराटनगर स्थित कोभिड १९ अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली शुक्रबार क्वारेन्टाइनबाट डिस्चार्ज भएको छ ।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको हो ।

इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकासमन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले विदाई गर्नुभयो । चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको भन्दै मन्त्री घिमिरेले सबैलाई धन्यवाद दिनुभयो । अवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उहाँले आग्रहसमेत गर्नुभयो ।

कोभिड अस्पतालमा संक्रमितको उपचार गर्न पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम खटिएको थियो । ७ दिन अस्पतालमा बसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेर घर गएको हो । अस्पतालमा ७ दिन खटिएपछि चिकित्सकको टोलीलाई क्वारेन्टाइनमा पठाउने गरिएको छ ।

विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा ३१ जना संक्रमित भर्ना भएकोमा १४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । अस्पतालमा अब १७ जना उपचाररत छन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताउनुभएको छ । कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टिङको काम भइरहेको छ । यस्तै कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताउनुभयो । टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्यको नेतृत्व छ ।

शुक्रबार, २६ बैशाख, २०७७, दिउँसोको ०३:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर