कानेपोखरी । गत बुधबार करिब ३ बजेतिर बाहुनी बजार जान्छु भनेर हिंडेका कलकलाउँदो छोराको भोलिपल्ट मृत फेला परेपछि आमाबाबुलाई कस्तो होला । सायद यो भन्दा ठूलो बज्रपात अरु हुन सक्दैन ।
मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका कमल र गंगा दम्पत्तीलाई यस्तै बज्रपात परेको छ । आफूहरुलाई पाल्ने आशामा भविष्य सजायर बसेका उनीहरुलाई बिहीबार भएको यो घटनाले शोकमग्न बनाएको छ । कमल र गंगा गिरीका जेठा छोरा हुन् आयुष गिरी ।
१८ वर्षीय आयुषको अल्पायुमै बुधबार रहस्यम तरिकाले मृत्यु भएको थियो । मापसे गर्दा विवाद भएपछि कुटपिट पछि हत्या भएको र शव बेलबारी नगरपालिका–७ दौलतपुरस्थित नहरको ढिलमा फालिएको हुनसक्ने यहाँका स्थानीयले आशंका गरेका छन् । मृतकको शरीरमा निलडाम र चोटपटक रहेकोले हत्या गरिएको आशंका गरिएको हो ।
‘पहिला पनि छोरा बजार जाने गरेका थियो,’ गहभरी आँसु पार्दै आयुषका बुबा कमल गिरीले भन्नुभयो, ‘पहिला साँझमा घर आउने गरेको थियो । सँधै जस्तै त्यसदिन पनि घर आउँछ भन्ने लाग्यो । तर, रातीसम्म नआएपछि हामी पनि अतालियौं । छोराको मोवाइलमा फोन पनि गरियो । तर फोनमा सम्र्पक हुन सकेन ।’ बिहीबार विहान आयुषको शव नहरको डिलमा मृत अवस्थमा मर्निङवाक गर्ने क्रममा स्थानीयले देखेर आफुलाई खबर गरेको कमलले बताए ।
आयुषले स्थानीय स्कूलबाट एसइइ पास गरेपछि पढाइलाई पूर्ण विराम लगाएका थिए । आर्थिक अवस्था कमजोर रहेको गिरी परिवारका जेठा छोरा आयुष लामो समयदेखि स्थानीयको ट्याक्टरमा सहचालकको रूपमा काम गर्दै आएका थिए । ‘छोराले पढाइ छोडेर ट्याक्टरमा काम गर्दै आएको थियो,’ बावु कमलको भनाइ छ, ‘यही छोराले परिवारको रेखदेख पनि गर्दै थियो । हाम्रा मुटुका टुक्रा जस्तो छोरालाई कुन पापीहरूले मारिदिए नहरको ढिलमा फालिदिए ।’
मृतक परिवार र आफन्तले चाँडो छानविन गरि दोषीलाई कडा कारवाहीको माग पनि राखेका छन् । शवको पोस्टमार्टम धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेपछि बिहीबार साझ नै चिसाङ खोलामा दाहसंस्कार गरिएको छ ।
दोषीलाई कडा कारवाहीको माग
मृतकका परिवार र आफन्तले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कडा कारवाहीको माग राखेका छन् । सत्यतथ्य चाँडै प्रहरी प्रशासनले चाँडै सार्वजानिक गरि दोषिलाई कडा कारवाही हुनुपर्ने मृतककी फुपु लिला गिरीले बताउनु भयो । यस घटनमा इलाका प्रहरी कार्यालय बेलबारीले बिहीबार दिउँसो ११ जना पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।
आयुषको मृत्यु शंकास्पद रहेकोले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको इप्रका बेलबारीका प्रमुख इनिस्पेक्टर ऋषिराज ढकालले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिएका लिएकाहरू उनीसँगै ट्याक्टरमा काम गर्ने चालक र उनका साथीहरू रहेका छन् । नियन्त्रणमा लिएका केही शंकास्पद युवक र मृतक युवकले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको पाइएको छ ।
ब्यूरो टोलीसहितको संयुक्त अनुसन्धान
यस घटनामा घटनामा ११ जनालाई नियन्त्रणमा लिएर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको बिशेष ब्यूरो टोलीसहित तीन वटा टोलीले संयुक्त रूपमा सुक्ष्म अनुसन्धान सुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सादा पोशकमा खटिने विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी टोलीसहित ब्यूराको टोलीले संयुक्त रूपमा अनुसन्धान सुरू गरेको हो ।
उक्त टोलीले पक्राउ परेकाहरूलाई लिएर बुधबार राती मादपक पद्धार्थ सेवन गरिएको घटना स्थल उनीहरू बसेको ठाउँमा आएर प्रहरीले दशी (प्रमाण) खोज्ने काम सुरू गरेको प्रहरी स्रोतको भनाइ छ ।