भारतीय अभिनेता ऋषि कपूरको निधन

एजेन्सी । बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको दुई दिनपछि भारतका अर्का दिग्गज अभिनेता ऋषि कपूरको पनि उपचारका क्रममा ६७ वर्षको उमेरमा आज निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि हिंजो मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको हिंजै निधन भएको भारतीय संचारमाध्यामले जनाएका छन् ।

अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए … ऋषि कपूर… गए… अहिले भर्खर बिते ….. म विक्षिप्त भएको छु ।’

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

उनले अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ । ६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।

बिहिबार, १८ बैशाख, २०७७, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर