विराटनगर । प्रदेश १ मा कोरोना भाइरहेको जोखिमको कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा सञ्चालन हुने भएको छ ।
एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ ।
दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख टंक उपे्रतीबीच बिहीबार सम्झौता भएको छ । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गतेसम्मका लागि सम्झौता भएको छ ।
एसईई तयारी कक्षा वैशाख १५ गतेदेखि शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत मानवहादुर देवकोटाले जानकारी दिनुभयो । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री प्रसारण गरिनेछ ।
एसईई तयारी कक्षा शुरु हुनुअघि दैनिक १० मिनेट विज्ञबाट विद्यार्थीलाई विभिन्न व्यवहारीक ज्ञानबारे जानकारी दिइनेछ । हरेक दिन विहान १० वजेदेखि कक्षा शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत देवकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलो सम्झौता अनुसार ९० वटा कक्षा सञ्चालन गरिने छ ।