शोभा बजगाई
अलिकती बाँकी रहेको
धुकधुकी संगै
न्युयोर्क सिटिमा छटपटाएको एउटा मुटु ।
जसलाइ पहिलो पटक
त्यहि शहरले सपनाको
विनिमय सिकाएको थियो ।
अहिले मृत्यु उसको सबैभन्दा
नजिक छ ।
तर ऊ….. हजारौ माइल
परको माटोसंग
सबैभन्दा नजिक छ ।
वायुको लय फरक छ ।
संगितको धुन फरक छ ।
घाम चिसो लाग्ने देशमा छ ऊ ।
जाहाँबाट,अन्तिम वायुलाइ
उसले अन्तिम पटक
गर्लम्म अंगालो हाल्यो ।
र पठायो यी अक्षर ।।
उसले सम्झियो
कखरा चिनेको स्कुलको
प्रांगण,
क्लास बंक गर्दा
भाले बनाउने गुरुहरुको
अनुहार
अनि,स्कुल छेउको चटपटेको
ठेला…
जाहाँ उसकी पृयसीको
आभा नाचिरहेको थियो ।
सम्झियो…..
अन्तिम डेटमा
अन्तिम पटक
चुमेको प्रेमिकाको ठूलो
निधार ।
घर सम्झियो ।
क्षितिजसम्म उदाएको
घामको लालीमा सुतेका
खेतका फाँटहरु सम्झियो ।
हरेक साल सिरुवा मेला जान
शिला खोजेका धानका बाला
सम्झियो ।
र…तीनै बालाको लहर संगै
बा को उज्यालो चेहेरा
सम्झियो ।
विश्व मानचित्रमा
एक भुगोल देश सम्झियो ।
टहटह जुन पोतेको
एक टुक्रा आकाश सम्झियो ।
हिड्नेबेला आमाले
लाइदिएको रातो टीका सम्झियो ।
र सम्झियो रातो सन्देश बोकेर
जाने
रातो लिफाफा ।
उसको लडाइले मृत्यु जित्दैन ।
उसलाई थाह छ ।
एकछिनलाई सबै कुरा
बिर्सियो
र सम्झियो
….. मात्रै आर्यघाट ।
Touchy words…💞💞
राम्राे कविता शाेभा।