काठमाडौं । कोरोनाको सम्भावित जोखिमबाट बच्न घोषणा गरिएको लकडाउनको विषयमा विशेष निर्णय लिन आज बेलुका ४ बजे संघीय सरकार मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।
बैठकमा स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
सरकारले चैत २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । यसलाई निरन्तरता दिने कि नदिने भन्नेबारेमा मन्त्रिपरिषदमा छलफल हुने जनाइएको छ ।
बैठकमा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिता पछि रद्ध गरिएको सम्झौता र त्यसपछिको उत्पन्न परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ ।
लकडाउनको समयावधि थप्न सुझाव
यता प्रमुख राजनीतिक दलका नेताले लकडाउनलाई तत्काल खुकुलो बनाउन नहुने बताएका छन् । लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोनाको टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न नहुने सुझाएका हुन् ।
केहीले लकडाउन खुकुलो पार्नुपर्ने बताउँदै आएका छन् । दलका नेताहरूले भने अहिले खुकुलो पार्नुपर्ने अवस्था नआएको जिकिर गरेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिएका ६ जनै विदेशबाट आएका रहेको र उनीहरूको सम्पर्कमा आएका व्यक्ति र परिवारको परीक्षणपछि मात्रै लकडाउन खुकुलो पार्न सुझाएका छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पर्याप्त परीक्षण गरेर मात्रै लकडाउन खुकुलो बनाउन सकिने बताउनु भयो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि लकडाउन खुकुलो पार्ने नभई परीक्षण धेरैभन्दा धेरैमा गर्नुपर्ने बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।