मन्त्री आङ्बोद्वारा व्यक्तिगत रुपमा ३२० परिवारलाई राहत

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले व्यक्तिगत रुपमा आफ्नो गृहजिल्ला पाँचथरका विपन्न परिवारलाई राहत वितरण गर्नुभएको छ ।

लकडाउनको समयमा काम गर्न नपाएपछि गुजारा चलाउन समस्या भएकाआर्थिक रुपमा विपन्न ३ सय २० परिवारलाई मन्त्री आङ्बोले खाद्यान्न सहयोग गर्नुभएको हो ।

पाँचथरको निर्वाचन क्षेत्र ख बट प्रदेशसभामा निर्वाचित आङ्बोले व्यक्तिगत रुपमा स्थानीय तहले न्यून आर्थिक अवस्था भएका भनेर राखेको तथ्याङ्कको आधारमा बिहीबार खाद्यान्न वितरण गर्नुभएको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाका १९०, फिदिम नगरपालिका–९ लुम्फाबुङका ६० र तथा फिदिम–६ शिवाका ७० परिवारलाई खाद्यान्न सहयोग गरिएको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

गाउँमै २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग मन्त्री आङ्बोले उपलब्ध गराउनुभएको हो । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रत्येक परिवारलाई २५ किलोको दरले चामल वितरण गरिएको छ ।

लकडाउनको बेलामा ज्याला मजदुरी गर्न नपाएका त्यहाँका एकल महिला तथा विपन्न परिवारले राहत पाएपछि बाँच्ने आधार बनेको भन्दै खुसी व्यक्त गरेका थिए ।

बिहिबार, २० चैत, २०७६, रातीको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर