विराटनगर । नेकपाका युवा नेता जीवन आचार्यले कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउन गर्दा समस्यामा परेका ५ सय घरपरिवारलाई राहत वितरण गर्नुुहुने भएको छ ।
विराटनगर निवासी आचार्यले मोरङको क्षेत्र नं. ६ अन्तर्गत बुढिगंगा गाउँपालिका र आसपासमा रहेका विपन्न परिवारलाई सोमबारदेखि राहत वितरण गर्ने जानकारी दिनुभएको छ । आफ्नो गाउँ र क्षेत्रमा रहेका दिनभर मजदुरी गरेर हातमुख जोड्ने परिवारलाई कुनै भिडभाड नगरी घरमै पुगेर राहत वितरण गर्ने उहाँको योजना छ ।
राहत वितरणमा आवश्यक सहयोगको लागि उहाँले प्रशासनलाई अनुरोधसमेत गर्नुभएको छ । पछिल्लो असहज परिस्थितको सबैभन्दा ठूलो मार गरिब नेपाली जनतामा परेको भएपनि सरकारी तवरबाट राहत वितरणको योजना अगाडि बढ्न नसकेको बेला आचार्यले राहत वितरण गर्ने बाउनुभएको हो । उहाँ गत प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रमा नेकपाको उम्मेदवार भई पराजित हुनुभएको थियो ।
निर्वाचनमा पराजित भएपनि जनताको समस्याबारे जानकार रहेको र त्यसको समाधानमा सधै तत्पर रहेको बताउँदै आचार्यले गरिब, मजदुर, छाक टार्न मुश्किल परेका र असहायका लागि सरकारले पनि राहतको प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ । यो विषम परिस्थितिमा सरकार मात्रले सबै काम गर्न नसक्ने भएकोले सकेजति सबैले राहत वितरण गर्नेगरी अभियान नै सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।