घरमै ताजा तरकारी डेलिभरी

विर्तामोड । कोरोना भाइसको जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी उपलब्ध गराउने भएको छ ।

अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा तरकारी खेति गरेको फर्मले घरमै तरकारी डेलिभरी गरिदिने भएको हो ।

फार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी उत्पादन गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पु¥याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति (पासं) लिएको गाडीमा तरकारी राखेर घरघरै पु¥याउन थालिएको हो । तरकारीको मूल्य प्रचलित बजारभाउभन्दा सस्तो रहेको अधिकारीको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिमको ख्याल नगरी सर्वसाधारणहरु तरकारी पसलमा भीड लागेको देखेर सङ्कटको बेला सहयोग गर्ने उद्देश्यले आफूहरुले घरघरमा तरकारी डेलिभरी सेवाको व्यवस्था गरेको फार्मले जनाएको छ ।

फार्मले काक्राको मूल्य प्रतिकेजी रु ५०, टमाटरको रु ५०, बैगुनको रु ५०, बोडी र करेलाको मूल्य भने प्रतिकेजी रु २०० कायम गरेको छ । फार्म सञ्चालकहरुले आफ्नो फोन नम्बर सामाजिक सञ्जालमार्फत सम्पर्कका लागि सार्वजनिक गरेपछि प्रशस्त माग आइरहेको अधिकारीले बताउनुभयो ।

पहिलो प्राथमिकता अर्जुनधारा नगरभित्रकाका लागि भएको जनाउँदै फार्मले छिमेकी नगरमा पनि सेवा दिने जनाएको छ । बजारको भीडभाडमा जाने अवस्था नरहेको अवस्थामा घरघरैमा बजार मूल्यमै ताजा तरकारी पाएपछि स्थानीय खुसी भएका छन् ।

शुक्रबार, १४ चैत, २०७६, बिहानको ११:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर