विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरी २ लाख २० हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमध्ये ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । यस्तै १ लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेको जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।
चीनको हुबेई प्रान्तको बुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । बिहीबार चीनभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटना देखा नपरेको चिनियाँ अधिकारीले बताएका छन् । बाहिरबाट चीन आएका व्यक्तिमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखापरेको जनाइएको छ ।
चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारभन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।
कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् । यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटना देखापरेका तर तीमध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन् ।
भारतमा हालसम्म कम्तीमा १६९ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् । देशभर सयौँको संख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ‘क्वारेन्टाइन’ राखिएको छ ।
देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर, विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको भईसेकेको छ ।
पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट २ जनाको ज्यान गइसकेको छ । श्रीलङ्कामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा र भुटानमा १ संक्रमण देखापरेको छ ।