विराटनगर । विराटनगरमा जारी अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका र ग्रिनल्याण्ड कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा विराटनगरको निहारिका कलेजले विराटनगरकै कोसी मल्टिपल कलेजलाई ३–१ गोलमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ भने विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
विराट बुद्ध स्पोर्टिङ क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा निहारिकाले कोसी मल्टिपललाई ३–१ को गोलअन्तरमा पराजित गरेको थियो । खेलमा निहारिकाका सुजन शर्मा, मनकुमार राई र सनम धिमालले गोल गरे भने कोसीको लागि एक मात्र गोल रितिक खड्काले गरेका थिए । खेलको म्यान अफ दि म्याच निहारिकाका मनकुमार राई भए ।
त्यसैगरी दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको ६२ औं मिनेटमा ग्रिनल्याण्डका सञ्जय धिमालले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच धिमाल नै भए । म्यान अफ दि म्याचले ३१ सय रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल बिहीबार निहारिका कलेज र ग्रिनल्याण्ड कलेजबीच हुने आयोजक क्लबका अध्यक्ष रोहित कोइरालालो जानकारी दिनुभयो ।