गुराँसले ढकमक्क टिएमजे सुनसान

तेह्रथुम । कोरोना भाइरसको कारण पर्यटक जान छाडेपछि ढकमक्क गुराँस फुलेको सिजनमा तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा फैलिएको टीएमजे क्षेत्रमा अहिले ढकमक्क गुराँस फुलेको भएपनि कोरोना भाइरसका पर्यटक छैनन् ।

गुराँस फुल्ने यो सिजनमा पर्यटकको चहलपहल बाक्लो हुने गरेकोमा कोरोना भाइरसको संक्रमणले जमघट र हिँडडुल हराउँदा पर्यटक नआएको पर्यटन व्यवसायीले बताएका छन् । वनैभरी लालीगुराँस फुले पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नरहेको टीएमजे पर्यटन समितिका अध्यक्ष सन्तोष लिम्बूले बताउनुभयो । गतसाल मात्रै गुराँस फुल्ने सिजनमा ५० हजार पर्यटक भित्रने गरेका छन् ।

गतवर्ष दैनिक २ सयदेखि ५ सयको हाराहारीमा पर्यटक घुमफिर गर्न र गुराँस हेर्न आउने गरेकोमा यो वर्ष शून्य उपस्थिति देखिएको गुफापोखरीका होटल व्यवसायी हिमा खनालले बताउनुभयो । गुराँस फुल्ने सिजन फागुनदेखि वैशाखसम्म हो । मस्त गुराँस फुलेको बेला कोरोनाको डरले पर्यटक नआउनु दुःखद भएको चौकी बजारका फुटिक शेर्पाले बताउनुभयो ।

टीएमजे क्षेत्रमा विशेषगरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि वैशाख, जेठ सम्म लालीगुराँस हेर्न पर्यटक पुग्ने गरेका छन् । समुद्री सतहदेखि २९ सय मिटरको उचाइमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्यले भरिपूर्ण बनावट पर्यटकको रोजाइमा पर्छ । सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस एकै ठाउँमा पाइन्छ ।

आइतबार, ०२ चैत, २०७६, रातीको ०९:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर