नेपालसहित १४ देशका नागरिकलाई कतारमा रोक

कतार । कतार सरकारले नेपाल सहित अन्य १४ देशका यात्रुलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ ।

बिश्वभरि फैलिँदो गरेको कोरोना भाइरसको महामारी रोकथामका लागि कतार सरकारले अस्थायी प्रतिबन्ध लगाएको बताएको छ ।

कतार एयरवेजको निर्णय अनुसार मार्च ९ देखि लागू हुने गरी नेपालसँगै भारत, बङ्गलादेश, चीन, इजिप्ट, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका यात्रुलाई कतार प्रवेशमा अस्थायी रोक लगाइएको हो । सरकारले इटालीबाट भने आउने जाने दुबै उडान बन्द गरेको छ ।

जनस्वास्थ्य मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन गर्दै कतारमा करोना भाइरसका थप ३ सङ्क्रमित भएको पुष्टि गर्दै हाल सम्म १८ जनामा सकारात्मक लक्षण देखिएको बताएको छ । थपिएका ३ जना आप्रवासी कामदार रहेको जनाइएको छ । तर, ती तीन आप्रवासी कुन देशका नागरिक हुन् भन्नेबारेकेही जानकारी दिइएको छैन ।

सम्मेलनमा मन्त्रालयका अधिकारीहरूले भाइरस समुदायमा फैलिए पनि सीमित रूपमा रहेको जानकारी दिए । कतारमा अवस्थित नेपाली राजदूतावासले सुचना जारि गर्दै कतार सरकारले अपनाएको सुरक्षा समबेद्शिलता र सतर्कताको अनुरोध लाई मनन गर्दै अत्यावश्यक अवस्थामा बाहेक भेटघाट तथा भौतिक सम्पर्क नगर्न अनुरोध गरेको छ ।

कतारको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कतारमा रहेका सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरू भोलिबाट बन्द गर्न निर्देशन दिएको छ । उक्त भाइरसका लागि उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, २७ फागुन, २०७६, दिउँसोको ०२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर