महिला रोकिए संसार रोकिन्छ….

महिला रोकिए संसार रोकिन्छ….

म नहुदा
फुल फुल्न बिर्सन्छ यहाँ
फुले पनि झर्न बिर्सन्छ यहाँ
रोप्ने म
गोडमेल गर्ने म
पानी लाउने म
फेरि पनि हेरन
मेरो नाम पनि, पर्न बिर्सन्छ त्यहाँ।

बोक्ने पाठेघर मेरो
चुसाउने छाती मेरो
हुर्काउने काख मेरो
रात रात अनिदो म
भोकै म
तिर्खै म
रुने म
कराउने म
टुप्लुक्क आउने तिमि
अनि किन बच्चामा तिम्रो सर्वाधिकार… ?

खबरदार…
मेरो अधिकारको अतिक्रमण गर्ने हक
कसैलाई छैन ।
याद गर,
तिम्रो अंशमा म छु ।
तिम्रो वंशमा म छु ।

म बिना घरको ढोका खुल्दैन
खुले पनि चुलो बल्दैन
कुचो उठ्दैन
किचन मेरै
छोराछोरी मेरै
परपाउना मेरै
तर पनि मेरो काम…. काम हैन रे ।

मेरो काम नदेख्ने आँखाहरु लाई अनुरोध छ ।
मेरो काम नसुन्ने कानहरु लाई अनुरोध छ ।

याद गर,
म समाज परिवर्तनको जंहारमा छु ।
म युग परिवर्तनको संहारमा छु ।

हिड्दै गरेको बाटोले गन्तव्य बिर्सन्छ ।
उड्दै गरेको चराले आकाश बिर्सन्छ ।
आगोले बल्न बिर्सन्छ ।
दियोले जल्न बिर्सन्छ ।
मैले सास फेर्न छाडें भने…
हेर संसारले चल्न बिर्सन्छ ।

त्यसैले त महिला रोकिए, संसार रोकिन्छ ।

आइतबार, २५ फागुन, २०७६, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर