श्रेष्ठको उपन्यास र कथा सङ्ग्रह एक साथ विमोचन

विराटनगर। विराटनगरमा शनिवार एकै लेखकका दुई कृर्ति एक साथ सार्वजनिक भएको छ । साहित्यकार ममता श्रेष्ठले लेख्नुभएको आखिर किन ? कथासङ्ग्रह र अञ्जुलीको पानी उपन्यास शनिबार एकसाथ विमोचन गरियो ।

साहित्यकार तथा गोरखापत्र दैनिकका प्रधानसम्पादक श्रीओम श्रेष्ठले दुवै कृतिको विमोचन गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको विमोचन समारोहका प्रमुख अतिथि श्रेष्ठले साहित्य सिर्जना हतारमा लेखिने विषय नभएको बताउनुभयो । नेपालका तीन करोड मानिसहरुमा लेखकको संख्या ३ हजार जतिमात्र भएको आँकडा राख्दै उहाँले लेखकले कहिल्यै नमर्ने गरी लेख्नुपर्ने सुझाव दिनुभयो ।साहित्य सिर्जना गर्नु सजिलो विषय नभएको भन्दै उहाँले लेखकले लेख्दा सँधै बाच्ने गरी लेख्नु पर्ने सुझाव दिनुभयो । साहित्य परिवारका लागि नलेखिने भएकोले कतिपय बेलामा साहित्य सर्जकहरुले बढीनै धैर्य गर्नुपर्ने उहााको सुझाव थियो ।

आफुलाई व्यक्त गर्न मनलागेको विषय बोलेर, गाएर, रोएर अनेक तरिकाले व्यक्त गर्न सकिने तर लेखेर व्यक्त गर्दा धेरै कुरा बिचार गर्नुपर्ने उहाँको भनाई थियो । कृत्रिम कुरा वा ग्ल्यामरस प्रस्तुतिले साहित्यलाई दिगो नहुने तर्फ ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

ममता श्रेठद्वारा लिखित अञ्जुलीको पानी उपन्यासमाथि टिप्पणी गर्दै साहित्यकार हरी कट्टेलले कृति यथार्थवादी र सामाजिक यथार्थमा आधारित रहेको बताउनुभयो । जीवन भोगाईमा आधारित रहेको र कोतुहलता आदि विषय पनि उपन्यासमा विद्यमान रहेको उहाँले बताउनुभयो । कतिपय घटनाक्रमहरु यथार्थमा नभएको जस्तो लागेपनि प्रस्तुती र कलात्मक पक्षमा अझ धेरै गर्न सक्ने ठाउँ थियो भन्ने तर्फ लेखकले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

आखिर किन भन्ने कथा सङ्ग्रहमाथि टिप्पणी गर्दै साहित्यकार शुभलक्ष्मी लम्सालले कथा सङ्ग्रह एक बसाईमा पढिसकिने बताउनुभयो । आजको व्यस्त मानिसका लागि नयाँ कृति उपयुक्त रहेको तथा सरल भाषा र कथाका विषय वस्तुले सबैको मन तान्न सक्ने उहाँले बताउनुभयो । कथाहरुमा नारी पात्र धेरै भएको, नारीको दुःख समेटिएको, जागिरको समयमा भेटिएका पात्रहरुमा आधारित रहेको उहाँले बताउनुभयो । कथासङ्ग्रहमा मनोविज्ञानमा आधारित कथाहरुको भने अभाव रहेको उहाँले बताउनभुयो ।

कार्यक्रममा समालोचक दधिराज सुवेदीले आख्यान विधामा उदाएकी साहित्यकार श्रेष्ठको कृतिहरु आगामी दिनमा परिस्कार हुँदै जानुपर्ने सुझाव दिनुभयो । उहाँले पाँच वर्षमा पाँच कृति प्रकाशन गरेको भन्दै प्रशंसा गर्नुभयो । साथै अब कृतिहरु परिस्कृत गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा साहित्यकार बलराम पोखरेलले नयाँ कृति विमोचन भएकोमा शुभकामना व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले लेखकको परिवारको रगतमा नै साहित्य मिश्रित रहेको बताउनुभयो । उहाँले धेरे कृति प्रकाशन गर्ने तर्फ मात्र ध्यान दिन नहुने सुझाव दिनुभयो । कार्यक्रममा साहित्यकार चुडामणि नेपाल अकिञ्चनले पनि शुभकामना तथा स्वागत व्यक्त गर्नुभएको थियो ।

शनिबार, २४ फागुन, २०७६, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर