धरान । प्रदेश १ लाई साहसिक खेल पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले नीति अघि सारेपछि प्रदेश १ मा पहिलो पटक सुनसरीको धरानमा व्यावसायिक साहसिक खेल जिपलाइन सञ्चालन हुने भएको छ ।
वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले धरान ४ भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटरको जिपलाइन सञ्चालन गर्न लागेको हो ।
करिब ३ करोड रुपैयाँको लागतमा जिपलाइन सञ्चालन हुन लागेको हो । यसअघि नै जिपलाइनको परीक्षण सफल भइसकेको सञ्चालकमध्येका केदार बहादुर थापाले बताउनुभयो । थापासहित विवश भण्डारी, यम राई र डोलिका लिम्बूलगायतको लगानीमा जिपलाइन सञ्चालन हुन लागेको हो ।
यो समूहले काभ्रेको धुलिखेलमा जिपलाइन सञ्चालन गरिरहेको छ । ६ सय ५० मिटर दुरीमा ३० देखि ४० सेकेण्ड समय साहसिक पर्यटकले मजा लिन सक्नेछन् । १० वर्षदेखि माथिकाले जिपलाइन गर्नसक्ने बताइएको छ ।
धरानको जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकारको हुनेछ । क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ । जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेकोले सुरक्षामा कुनै समस्या नहुने थापाले बताउनुभयो ।
धरानमा प्याग्याइडिङ सञ्चालनमा आइसकेको छ भने फ्याइङ फक्सको पनि परीक्षण भएको छ । यस्ता खेलले आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ ।